काठमाडौं, २१ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्रहरी राज्यको आन्तरिक सुरक्षाको मेरुदण्ड र देशको गौरव भएको बताएका छन् ।
प्रधानमन्त्रीले कानुनी राज्यको पालना र मानव अधिकारको संरक्षणका क्षेत्रमा प्रहरीले गरेको योगदानको प्रशंसा गर्दै भन्नुभयो, ‘कानुनी राज्यको पालना, मानव अधिकारको संरक्षण, शान्ति र सुव्यवस्थाका लागि नेपाल प्रहरीले खेलेको भूमिका उल्लेखनीय छ । भावी दिनमा पनि यस संगठनबाट संविधानको कार्यान्वयनको चरणमा राज्यलाई पूर्ण सहयोग हुनेछ भन्ने विश्वास लिएको छु । त्यसका लागि आवश्यक पर्ने साधन स्रोतका लागि सरकार जुनसुकै सहयोग गर्न तयार छ ।’
समारोहमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरीले देशको शान्ति सुरक्षामा खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरीको आजीवन कार्यजीवी सम्मानबाट पूर्व प्रहरी महानिरीक्षक श्यामभक्त थापालाई सम्मान गरिएको थियो भने नेपाल प्रहरीका कलाकारहरुले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।