काठमाडौं २० असोज । गैरआवासीय नेपाली संघ एनआरएनए ले नेपाली युवाका लागि गुणस्तरीय र व्यावसायिक शिक्षा प्रवद्र्धनमा लगानी गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र एनआरएनएको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न दुईदिने युवा सम्मेलनपछि मंगलबार ‘बोडे घोषणापत्र’ जारी गर्दै एनआरएनए अध्यक्ष शेष घलेले आफूहरू नेपाली युवाको शिक्षा, रोजगारीका निम्ति सीप प्रवद्र्धन गर्न नेपाल सरकारसित सहकार्य गर्न तत्पर रहेको बताए ।
त्यसैगरी युवामा सामाजिक उद्यमशीलता विकास गर्न युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा राष्ट्रियस्तरको उपराष्ट्रपति उद्यमशीलता नेतृत्व विकास केन्द्र स्थापना गर्ने घोषणा गरिएको छ । व्यावसायिक शिक्षालाई प्रवद्र्धन गर्न तथा युवा उपयोगी सूचना प्रवाह गर्न युवा परिषद्ले एक वर्षभित्रमा कम्प्युटर एप्लिकेसन निर्माण गरी सञ्चालनमा ल्याउने, गैरआवासीय नेपालीका सन्ततिहरूलाई नेपाली भाषा, कला, संस्कृतिसँग परिचित गराई भाषा संस्कृतिको जगेर्ना गर्न परिषद् र एनआरएनएको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने तथा नेपाली समाजमा विद्यमान परम्परागत ज्ञान, सीप र प्रविधिलाई तालिम र औपचारिक शिक्षासँग जोड्न सरकार र सम्बद्ध निकायसँग युवा परिषद्ले पहल गर्ने उल्लेख छ ।
एनआरएनएबाट लघुवित्त कार्यक्रम स्थापनाको सम्भाव्यता अध्ययन गरी नेपाली र वैदेशिक रोजगारबाट फर्किएका युवालाई नेपालमै स्वरोजगार र उद्यमशीलताका लागि युवा परिषद्सँगको सहकार्यमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । त्यस निम्ति परिषदअन्तर्गत यसै वर्ष युवा विप्रेषण तथा सामाजिक सुरक्षा कोष निर्माण गरी एनआरएनएका तर्फबाट समेत आर्थिक सहयोग जुटाउने उल्लेख छ ।