काठमाडौं , १९ । पूनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठक मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले भूकम्पबाट अति प्रभावित १४ जिल्लाको प्रतिनिधित्व हुने गरी परामर्श समितिमा १४ जना सांसद थप गर्ने अधिकार प्रधानमन्त्री तथा परामर्श समितिका अध्यक्ष प्रचण्डलाई दिएको छ ।
परामर्श समितिको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवन रक्षार्थ युद्ध स्तरमा काम गरेर मात्रै पूनर्निर्माणमा प्रगति हासिल हुन सक्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘अहिलेसम्म नीतिगत र संरचनागत काम बढी भएका छन् । जनताले राहत र पूनर्निर्माणको अनुभूति हुने गरी काम हुन सकेको छैन । हामीले सम्वदेनशील भएर राहत, पूनर्बास र पूनर्निर्माणको काम गर्नुपर्छ ।’
प्रधानमन्त्रीले परामर्श समितिको अर्को बैठक ६ महिना अगावै बस्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘कार्यविधिमा परामर्श समितिको बैठक ६ महिनामा बस्ने व्यवस्था छ । तर, कामको चाप र सम्वेदनशीलता हेरेर म छिटै बैठक बोलाउनेछु । यसपछि प्राधिकरणको कार्यकारी समिति र निर्देशक समितिको बैठक बोलाएर थप निर्णय र कामलाई रफ्तारमा लगिनेछ । छिटै जनताले परिणाम देख्ने गरी काम हुनुपर्छ ।’
परामर्श समितिको कार्यकारी निर्देशक सुशीलराज ज्ञवालीले प्राधिकरणले गरेको हालसम्मको प्रगति, समस्या र प्राधिकरणको अवस्थाबारे परामर्श समितिलाई जानकारी गराउनु भएको थियो । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का उपाध्यक्ष बामेदव गौतम, परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत लगायतका व्यक्तित्वहरुले पूनर्निर्माणलाई प्रभावकारी बनाउनेबारे आफ्ना धारणा राख्नुभएको थियो ।