घोराही, १७ असोज । दाङ जिल्लाका स्थापित कम्युनिष्ट नेता घनश्याम बुढाथोकीको स्मृतिमा गठित घनश्याम स्मृति प्रतिष्ठानले यस बर्षको घनश्याम स्मृति पुरस्कार पत्रकार शरद अधिकारीलाई प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानमा बुढाथोकीका कान्छा भाई सूर्य विसी र घनश्याम बुढाथोकीका जेठा छोरा नवनाथ बुढाथोकीले स्थापना गर्नुभएको घनश्याम स्मृति पुरस्कार पहिलो पटक प्रदान गरिदैछ । साहित्य, पत्रकारिता, राजनीति र समाज सेवाको क्षेत्रमा उल्लेख्य योगदान पुराएकाहरुलाई हरेक बर्ष पुरस्कृत गर्दै जाने पनि प्रतिष्ठानका महासचिव विसीले जानकारी दिनुभयो । घनश्याम स्मृति पुरस्कारका लागि छनौट गरिनुभएका पत्रकार अधिकारी राप्ती पोष्ट दैनिकका सम्पादक र प्रगतिशील लेखक संघ नेपाल दाङका अध्यक्ष हुनुहुुन्छ ।
यहि असोज १९ गतेका दिन घोराहीमा आयोजना गरिएको कार्यक्रममाा पुरस्कार वितरण गरिने भएको छ । कार्यक्रम प्राज्ञ तथा प्रगतिशील लेखक संघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष डा. अमर गिरीको उपस्थितिमा कार्यक्रम गर्न थालिएको पनि बिसीले बताउनुभयो ।
२०६९ साल असोजको १९ गतेका दिन तत्कालिन सरकारको विरोधमा घोराहीमा आयोजना गरिएको कार्यक्रममा सहभागिताका लागि सौडियार गाविसमा रहेको घरबाट आउने क्रममा विपरित दिशाबाट आएको मोटरसाइकिलले उहाँ चढेको मोटरसाइलिकलाई ठक्कर दिएको थियो । बुढाथोकी नेकपा एमाले दाङ जिल्लाका पूर्व उप सचिव र सैघा गाविसबाट दुई पटक अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।