प्रधानमन्त्री कार्यालयमा नेपाली कांग्रेस, एमाले तथा माओवादी र आयोगका पदाधिकारीबिच छलफल भएको हो । छलफलको क्रममा इलाकालाई आधार मानेर स्थानीय निकायको पुनर्संरचना गर्ने विषयमा देखिएको अन्यौलता हटेको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले बताउनुभयो । उहाँले सरकार आयोगलाई आवश्यक सबै किसिमको सहयोग गर्न तयार गरेको पनि बताउनुभयो ।
यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अस्पष्टता हटेको र अब काम नियमति रुपमा हुने बताउनुभयो । बैठकपछि एमाले नेता भीम रावलले चाँडै नै स्थानीय निकायको चुनाव गर्ने गरी काम गर्ने सहमति बनेको र असमझदारी हटेको बताउनुभयो ।
आयोगका अध्यक्ष बालानन्द पौडेल दलका नेताले कात्तिक भित्र प्रतिवेदन आउने गरी काम गर्न आग्रह गरेको र आफूहरुले छलफल गरेर त्यही अनुसार काम गर्ने प्रयास गर्ने बताउनुभयो ।
