दाङ, १७ असोज । परस्त्रीको कोठामा दाङका एक प्रहरी अधिकृत थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको छ ।
प्रहरी नायब महानिरीक्षक माधव नेपालको निर्देशनमा गठन गरिएको छानबिन टोलीको सदस्यमा अञ्चल प्रहरी कार्यालय राप्तीका प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्की र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक विष्णु प्रदिप वस्याल रहेका छन् । छानबिन टोलीले ५ दिनभित्र प्रतिवेदन तयार पारेर क्षेत्रमा बुझाउने गरी जिम्मेवारी दिइएको छ ।
अनुसन्धानका लागि गठन भएको छानबिन टोलीले विवादमा तानिएका प्रहरी नायब उपरीक्षक प्रसाई, उनलाई ताला फोडेर बाहिर निकाल्ने प्रहरी जवान, घटनाका प्रत्यक्षदर्शी, घटनामा मुछिएकी महिला र घरमालिकसँग सोधपुछ समेत गरेको स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार प्रसाईंले ‘भान्जी’ गणित विषयमा कमजोर भएकाले सिकाउन जाने गरेको बयान दिएका छन् भने महिलाले तिहारमा टिका लगाउने दाइ भएको बताएकी छन् ।