अवैध वित्तिय कारोबार अर्थात हुण्डी सञ्चालन गरेको आरोपमा आइतबार पर्सा प्रहरीले ८१ लाख नगद र विभिन्न चेकसहित ५ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले एक व्यापारीको घरमा छापामारी नगद र चेक सहित ५ जनालाई पक्राउ गरेको हो। घरबाट मुद्राको अवैध कारोबार ( हुन्डी ) गरेको आरोपमा नगद सहित सबैलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी सन्तोष जैनको घरमा छापामारी गरी ठूलो परिमाणमा अवैध रुपैयाँ सहित पाँचै जनालाई पक्राउ गरेको हो।
जैनले उषा गोयन्काको नाउमा सुर्तिजन्य वस्तु, निर्माण सामग्री, खाद्य सामग्री, सुन चांदीका गरगहना तथा सजावटका सामग्रीको कारोबार गर्ने भनि स्वीकृति लिएको न्युनेहा ओभरसिजमा अवैध वित्तिय कारोबार अर्थात हुण्डीको सञ्चालन गरेको सूचनाको आधारमा छापा मारेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए।
अवैध हुण्डीको कारोबार सञ्चालन गरेको अभियोगमा २ करोडभन्दा बढी नगद र चेकसहित पक्राउ परेको यो घटना पर्साको पहिलो घटना भएको र यस सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरी उपरिक्षक श्रेष्ठको भनाइ रहेको थियो।