काठमाडौं । हिन्दु ॐकार भोलन्टियर्सले बडादशैं, तिहार एवं छठ्पर्वको शुभकामना दिँदै सनातन धर्म, दर्शन, संस्कार–संस्कृति, परम्परा र सभ्यताले नेपालको वास्तविक मौलिक राष्ट्रिय पहिचानको निर्माण गरेको बताउँदै नेपाली राष्ट्र–राष्ट्रियताको मेरुदण्डको रूपमा रहेका यी विषयहरूको संवर्धन–संरक्षण, विकास–विस्तार र संस्थागत गर्न अपरिहार्य रहेको धाराणा व्यक्त गरेको छ ।
यसै गरी सो शुभकामना सन्देशमा ‘नेपालीको मौलिक पहिचान तथा राष्ट्रियताको धरोहर सनातन धर्मको सर्वाङ्गिण पक्षलाई आत्मसात गर्ने क्षमता र बुद्धि–विवेक हामी सबैलाई नवदुर्गा भवानीमाताको आर्शिवाद तथा अनुकम्पाले प्राप्त होस्’ उल्लेख छ ।
सन्देशको अन्त्यमा नेपालीहरूको महान पर्व एवम् राष्ट्रिय चाड बडादशैं, तिहार एवं छठपर्व २०७३ को शुभ उपलक्ष्यमा सो हिन्दु ॐकार भोलन्टियर्स नामक संस्थाको तर्फबाट विभिन्न क्षेत्रमा संलग्न भएर विश्वका विभिन्न स्थानमा रहेका समस्त नेपाली आमावुवा, दिदीबहिनी, दाजुभाइ तथा आम सर्वसाधारण सबैमा माता नवदुर्गा भवानीको प्रसादले उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायु एवं आत्मोन्नतिको कामना गरिएको छ ।