काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको प्राज्ञिक उनन्नयन, विकास र गुणस्तरका लागि विश्वविद्यालय छाता ऐन आवश्यक रहेको बताउनु भएको छ ।
भेटमा प्रधानमन्त्रीले शिक्षाको आमूल सुधारका लागि शिक्षा क्षेत्रमा लगानी बृद्धि, विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास र प्राज्ञिकहरुको सम्मान आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘शिक्षामा लगानी बृद्धि, विश्वविद्यालयहरुलाई अनुसन्धान केन्द्रको रुपमा विकास र प्राज्ञिकहरुको सम्मानले मात्रै यो क्षेत्र अगाडि बढ्न सक्छ । यसका लागि सरकारका तर्फबाट आवश्यक पहल हुनेछ ।’
भेटमा प्राध्यापक संघका पदाधिकारीहरुले प्राध्यापकहरुको मर्यादाक्रम निर्धारण गर्न, स्वास्थ्य बीमाको व्यवस्था गर्न, जीवन निर्वाह गर्नसक्ने सेवा सुविधाको प्रबन्ध गर्न, छाता ऐनको व्यवस्था गर्न, विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रता र स्वायत्तताको विकास गर्न र प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्ति गर्नु प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
भेटमा प्राध्यापक संघको टोलीले नेपालमा गणतन्त्रको स्थापना गर्न, शान्ति प्रक्रियाको नेतृत्व गर्न र आर्थिक सामाजिक रुपान्तरणका लागि प्रधानमन्त्रीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्रीलाई सम्मान गरिएको थियो ।