Indrenionline.com

नेपाल-चीनको सिमानामा विकासका गतिविधि, सिमा क्षेत्र ‘आर्थिक क्षेत्र’ बन्दै

काठमाडौं, १४ असोज । नेपाल र चीनबीच सिमा नाकामा आर्थिक क्षेत्र विकास गर्ने सहमति भएको छ । चीनले नेपाल–चीन दुवैतर्फको आर्थिक क्षेत्र निर्माणमा सहयोग गर्ने भएपछि आर्थिक क्षेत्रको विकास गर्न लागिएको हो ।

आर्थिक क्षेत्रको विकास गरिएपछि त्यस क्षेत्रमा वस्तुको मुल्य अभिवृद्धि र मूल्य शृङ्खला (भ्यालु चेन) गरिनछ । यसबाट सिमा वरिपरि रहेका वस्तुको मूल्य अभिवृद्धि हुने भने उत्पादन र उत्पादकत्व पनि वृद्धि हुने आशा गरिएको छ । त्यस्तै सिमा क्षेत्रमा बस्ने नेपालीको रोजगारीका अवसर सिर्जना हुने बताइएको छ ।

‘चीनले सिमानामा आर्थिक क्षेत्र विकास गर्ने योजना तयार गरिसकेको छ’, वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले भने, ‘नेपालतर्फको सिमाना पनि लगानी गर्न चीन तयार छ ।’ तर चीनले ८ अंकको एचएस कोडमा ड्युटी फ्री कोटा फ्री दिएकाले समस्या देखिएकोे छ । ६ अंकको एचएस कोड सवै मुलुकको वस्तु एउटै हुन्छ । तर ८ अंकको एचएस कोडमा मुलुकअनुसार वस्तु फरक पर्न सक्छ ।

‘हामीले बढी निर्यात हुने ५१२ वस्तुमा शून्य भन्सार सुविधा दिन आग्रह गरेका थियौं तिब्वतले केन्द्रीय सरकारसँग छलफल गर्ने बताएको छ’, प्रवक्ता सैंजुले भने, ‘चीनले केरुङलाई अन्तरराष्ट्रिय मापदण्डअनुसारको नाकाका रुपमा विकास गर्ने भएको छ । त्यसका लागि सुविधासम्पन्न पूर्वाधार निर्माण गर्ने तयारी चीनले गरेको छ ।’

यो योजनासँगै सन् २०१८ देखि २०२४ सम्म केरुङसम्म चीनले रेल सेवा ल्याउने योजनाको तयारी गरेको छ । मुस्ताङको कोरला र हुम्लाको हिल्सा नाका पनि खोल्ने तयारी छ ।