विश्वका सयभन्दा बढी विमानस्थलमा विमान अवतरण गराएकी बेलायतकी केट म्याकविलियम्स जब यात्रुलाई आफ्नो उमेर सुनाउँछिन् तब सबै आश्चर्यमा पर्छन् । इजिजेट एयरलाइन्सकी क्याप्टेन केट जम्मा २६ वर्षकी भइन् । इजिजेटले अहिले केटलाई व्यावसायिक क्याप्टेनमा सबैभन्दा कान्छी भन्ने दाबी गरेको छ ।
उनले भनेकी छिन्, ‘मलाई उमेरले कुनै अर्थ राख्दैन । मैले त्यही तालिम र त्यही कोर्स पूरा गरेकी हुँ जुन अरू क्याप्टेनले गरे । बरु मैले आफूलाई यो उमेरमा प्रमाणित गरेँ । तर, के फरक हो भने मलाई प्रत्येकपटक मेरो उमेर सोधिन्छ । कहिलेकाही चालक दलका सदस्यबाहेक यात्रुहरूले पनि मेरो उमेर सोध्नुहुन्छ ।’