काठमाडौं, ११ असोज । दुर्घटनामा परी तीन दिनदेखि त्रिशूली नदीमा हराइरहेका पूर्वमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनालाई खोजी गर्न आज आधुनिक उपकरण प्रयोग गरिएको छ ।
र्याकरबाट डेढ दुई सय मिटर गहिराईसम्म खोज्न सकिने बताइएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मंगलबार पनि बिहानैदेखि खोजी गरिरहेका छन् ।
यसैबिच उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले पूर्वगृहमन्त्री घिमिरे सवार जिप दुर्घटनास्थलको आज निरीक्षण गरेका छन् । गृहसचिव लोकदर्शन रेग्मी, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राई, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीसहित पुगेका गृहमन्त्री निधिले सबै प्रविधिको प्रयोग गरेर खोजी गर्न निर्देशन दिएका छन् ।