काठमाडौं, ११ असोज । गएको आइतवार कार दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको मोबाइल भने लागिरहेको थियो । परिवार र उद्धारकर्मीले लगातार सम्पर्क गर्दा घन्टी गइरहेको थियो । थप आश्चर्य सोमबार बिहान साढे ९ बजे घिमिरेकै नम्बरबाट चितवनका प्रहरी प्रमुख एसपी वसन्त कुँवरको मोबाइलमा फोन आयो । फोन आएपछि पूर्वगृहमन्त्रीलाई जीवितै उद्धार गर्न सकिने आशा बढ्यो । तर, उठाउन खोज्दा फोन काटियो ।
सोमबार पनि बिहानैदेखि त्रिशुली नदीमा खोजी भएकोमा केही पत्ता नलागेको प्रहरीले जनाएको छ । पूर्वगृहमन्त्री घिमिरे तथा उनका दुई भाइ प्रकाश र मोहन दुर्घटनापछि बेपत्ता छन् । दुर्घटनामा परी घिमिरेकी आमा चैतत्यकुमारी, भान्जा नारायणप्रसाद काफ्ले तथा अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको मृत्यु भएको थियो । उनीहरूको शव पाखामा भेटिएको थियो । गाडीमै रहेका प्रहरी हवल्दारसमेत रहेका चालक विष्णु राई घाइते छन् । उनको उपचार भइरहेको छ ।