चितवन,९ असोज । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार कार आइतबार साँझ त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । सरकारका पूर्वमुख्य सचिवसमेत रहेका घिमिरेको अवस्था अज्ञात छ । घटनास्थलबाट प्रहरीले गाडी चालकको भने जिवितै उद्धार गरेको छ ।
घटनास्थलमा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव भेटिएको विपत ब्यवस्थापन तालिम केन्द्र कुरीनटारका प्रवक्ता एसपी गणेशबहादुर थापाले जानकारी दिए । उनका अनुसार गाडी चालक बिष्णु राईको भने जीवितै उद्धार गरिएको छ ।
पूर्वमुख्य सचिव घिमिरे, उनका भाइहरु प्रकाश र मोहन वेपत्ता रहेको प्रहरीले जनाएको छ । उनीहरु मुक्तिनाथ दर्शन गरी काठमाडौं फर्किंदै थिए । कार पुरै पानीमा डुबेको र खोजीकार्य जारी रहेको चितवन प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए । उद्धारका लागि कुरिनटारस्थित सशस्त्र प्रहरी बलको आपतकालीन टोली परिचालन गरिएको छ ।