सिन्धुपाल्चोक, ७ असोज । राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्ने घोषणाबमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । शुक्रबार माओवादी केन्द्रका सांसद अग्निप्रसाद सापकोटा, नेपाल सरकारका कामु मूख्य सचिव टंकमणि शर्मासहित मेलम्ची पुग्नुभएका प्रधानमन्त्रीले आयोजनाको स्थलगत निरीक्षण गरेका हुन् ।
प्रधानमन्त्रीले विकास आयोजना छिटो सम्पन्न गर्ने संस्कारमा प्रतिस्पर्धा गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए। प्रधानमन्त्रीले भने, ‘हामीकहाँ काममा ढिलाई गर्नमा प्रतिस्पर्धा हुने गरेको छ । सरकार चाहन्छ, सबै आयोजनाहरु समयमै सम्पन्न गर्ने कुरामा प्रतिस्पर्धा गर्ने संस्कारको विकास होस्, सरकारलाई समयमै काम सम्पन्न गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने अवसर मिलोस् ।’
प्रधानमन्त्रीले सिन्धुपाल्चोक भूकम्प र प्राकृतिक प्रकोपबाट प्रताडित जिल्ला भएको भन्दै भूकम्प पीडितलाई राहत र पूनर्निर्माणको कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्रीले भने , सत्तामा अब राजा महाराजा छैनन्, हामी जनताकै बीचबाट आएका प्रतिनिधि हौं । जनताको पक्षमा काम गर्न पाउँदा मलाई विशेष गर्वको महशुस हुन्छ । भूकम्पपीडितको पक्षमा प्रभावकारी काम गर्न सरकार प्रयत्नशील छ ।’ कार्यक्रममा सिन्धुपाल्चोकका सांसदद्धय अग्निप्रसाद सापकोटा र शेरबहादुर तामाङ लगायतका वक्ताहरुले मेलम्ची आयोजनाको प्रगति र राष्ट्रिय महत्वबारे आफ्नो धारणा राखेका थिए ।
