इन्द्रेणी संवाददाता
दाङ, ७ असोज । त्रिपुर नगरपालिका–१ नारायणपुर बजार क्षेत्रमा दैनिक झण्डै एक टन फोहोर उत्पादन हुन्छ । उत्पादन भएको फोहरलाई स्थानीयहरुले सरसफाइ त गर्छन तर त्यसलाई कहाँ व्यवस्थापन गर्ने भन्ने अन्यौलमा छन् । बजार क्षेत्रमा उत्पादन हुने फोहरको उचित व्यवस्थापन गर्ने ठाउँ छैन । अहिले त्रिपुरको वसपार्कमा भाडामा लिएको एक तर्फको जग्गामा खाल्डो खनेर फोहर पुर्ने काम भइरहेको छ ।
डम्पिङसाइड नहुँदा फोहर व्यवस्थापनमा केही समस्या परेको त्रिपुर नगरपालिकाका कार्यकारी अधिकृत कमानसिंह थापाले बताए । उनले नगरपालिकाले अहिले फोहोर व्यवस्थापनका लागि उचित स्थानको समेत छनोट गरेको जनाएको छ ।
त्रिपुर– १ अर्घुको ऐलानी क्षेत्रमा अस्थाइ रुपमा व्यवस्थापनका लागि त्यहाँका जनतासँग एक चरणको सहमतिको निर्णय भएको कार्यकारी अधिकृत थापाले जानकारी दिए । प्रारम्भिक बाताबरणिय परिक्षण गरेर फोहोर व्यवस्थानको काम थालनी गर्ने योजना रहेको थापाको भनाइ छ ।
नारायणपुर बजार क्षेत्रबाट ६३ प्रतिशत गल्ने फोहोर, २० प्रतिशत प्लाष्टिक, ७ प्रतिशत कागज, ४ प्रतिशत धातु र अन्य ६ प्रतिशत फोहोरहरु उत्पादन हुने गरेको छ । बर्षिक ३ सय २० टन बजार क्षेत्रबाट फोहोर उत्पादन हुने गरेको नगरपालिकाले जनाएको छ ।