काठमाडौँ । विगत तीन दशकदेखि बेलायतमा बसोबास गरिरहेका क्याक्मी, स्याङ्जाका घनबहादुर थापा मगर आफूद्वारा रचित गीतहरूको एल्बम ‘मायाको संसार’ लिएर स्रोतामाझ आएका छन् । उनको एल्बमको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच विमोचन गरे । एल्बम विमोचनपछि बोल्दै रसिकले ‘विदेशमा रहेका थुप्रै कवि÷कलाकारहरूले नेपाली साहित्य तथा संस्कृतिलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको’ भन्दै उक्त कार्यको प्रशंसा गरे । उनले भने, ‘घनबहादुरजी त्यसैको एउटा उदाहरण हुनुहुन्छ ।’

‘देशको माटोमा मेरो फूल’ र ‘क्याक्मीको कोसेली’ नामक कविताकृतिका स्रष्टा घनबहादुरको एल्बममा ‘आउँछु भन्ने मायाको…’, ‘भमरा र फूलबिना…’, ‘त्यागेँ मैले…’, र ‘नेपाली माटो…’ समेत ६ वटा गीत समावेश गरिएका छन् । एल्बममा स्वरुप र श्रेयसीका साथै राजेशपायल राई, टीका प्रसाईं, मिलन अमात्य, सञ्जय तुम्रोक र तारा श्रीस मगरको सुमधुर स्वर सुन्न पाइन्छ । कृष्णा थापा मगरद्वारा प्रस्तुत एल्बम रिभेन्ज म्युजिक क्रियसनले बजारमा ल्याएको हो ।