काठमाडौं, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक क्षेत्रको कार्यक्रम लक्षित वर्गमा केन्द्रित गरेर परिणाममूखी काम गर्नुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा प्रधानमन्त्रीले थप्नुभयो, ‘हाम्रा एनजिओ, आइएनजिओको कामप्रति जनताका प्रशस्तै गुनासा छन् । गैर–सरकारी संस्थाको मूख्य काम मध्यम वर्गलाई जागिर खुवाउने र सहायक काम तल्लो वर्गलाई माथि उठाउने खालको भयो भन्ने आम धारणालाई बदल्न सक्नुपर्छ । हामीले उपेक्षित, उत्पीडित जनता र क्षेत्रलाई पहिलो प्राथमिकतामा राखौं, टाठाबाठा र पढेलेखेका मान्छेलाई जागिर खुवाउने कामलाई दोस्रो प्राथमिकतामा राखौं ।’
प्रधानमन्त्रीले एनजिओहरुले ठूला शहरमा सेमिनार र गोष्ठी गरेर आफ्नो औपचारिकता पुरा गर्ने गरेको जनगुनासो रहेको भन्दै दुर्गम र बिपन्न नागरिकको वास्तविक उत्थानका लागि काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल, समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बराल लगायतले समाज कल्याण परिषदको प्रगति र भूमिकाका विषयमा बोल्नुभएको थियो ।