दाङ ५ असोज । दङ्गालीको भान्सामा च्याउको सुुकटी लोकप्रिय बन्दै गएको छ । घोराही–५ नवलपुरस्थित अम्बिकेश्वरी च्याउ उद्योगले सुकुटी उपलब्ध गराउन थालेपछि च्याउको सुकुटी लोकप्रिय बन्दै गएको हो ।
उद्योगले १ हजार ४ सय गोलाबाट च्याउ उत्पादन गरिरहेको र खपतको आधारमा सुकुटी बनाउने र बजारमा लैजाने गरिरहेको छ । ‘ताजा च्याउमा बानी परेकाहरू सुकुटीभन्दा अलि हिचकिचाउँछन्,’ अध्यक्ष चौधरीले भने, ‘तर जसले खान्छ ऊ त्यसको पारखी नै भएको छ ।’
उनका अनुसार १ सय ग्रामको प्याकेट बजारमा ल्याएको उद्योगले सुकुटीको मूल्य १ सय ग्रामको रू. २ सय तोकेको छ । त्यस्तै, प्रतिकिलो २ हजार रुपैयाँका दरले सुकुटी विक्री भइरहेको उद्योगले बताएको छ । पारखीले च्याउको महत्त्व बुझेर सहजै खरीद गर्ने गरे पनि आमउपभोक्तामा सुकुटी खाने बानी कम रहेको उद्योगले बताएको छ । एक किलो च्याउबाट ९० ग्राम सुकुटी बन्ने चौधरीले बताए । घाम लागेको खण्डमा सोलार ड्राइबाट २ दिनमा सुकुटी उत्पादन गर्न सकिने चौधरीले जानकारी दिए ।
च्याउको सुकटी स्वादिलो र स्वास्थ्यवद्र्धक भए पनि उपभोक्तालाई बुझाउन अझै समस्या रहेको उनले बताए । यद्यपि, अहिले उत्पादित ताजा च्याउ र सुकुटीको खपत स्थानीय बजारमै भइरहेको छ । विस्तारै सुकुटीका पारखी बढ्दै गएकाले माग पूरा गर्न समस्या पर्ने गरेको अध्यक्ष चौधरीले बताए । यसमा आइरन, भिटामिन डी तथा प्रोटिन पाइनुका साथै नियमित सेवनले मधुमेह, उच्च रक्तचापका बिरामीलाई थप स्वास्थ्यवद्र्धक रहेको बताइन्छ ।