Indrenionline.com

पानीमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं, ४ असोज । भक्तपुरमा पानी पोखरी र घरमा बनाइएको अन्डरग्राउण्ड पानी ट्याङ्कीमा डुबेर दुई बालकको आज ज्यान गएको छ ।
काभ्रे मंगलटार घरभई भक्तपुर नगरपालिका–४ नागपोखरी बस्दै आएका जंगे तामाङ्गका २ वर्ष ४ महिनाका छोरा अनिल तामाङ्गको नजिकैको पोखरीमा डुबेर ज्यान गएको हो ।

पोखरीमा डुबेर गम्भीर बिरामी भएका उनको सिद्धिस्मृति अस्पतालमा उपचारको क्रममा ज्यान गएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

त्यसैगरी भक्तपुर नगरपालिका–३ कमलविनायक स्थित राजन चित्रकारको निर्माणाधिन घरको अण्डरग्राउण्डमा बनाउँदै गरेको पानी ट्याङ्कीमा डुबेर अर्को एक बालकको ज्यान गएको छ ।
प्रहरीका अनुसार एकादसी प्याथका छोरा पाँच वर्षका आर्यन प्याथको ज्यान गएको हो । आर्यनको मध्यपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।