शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले शिक्षा आठौँ संशोधन अनुसार अस्थायी शिक्षकलाई व्यवस्थापन गर्नका लागि ती दुई विकल्पमध्ये एक रोजेर फाराम भर्न आह्वान गरेको बताउनुभयो । विभागले अस्थायी र लियन पदमा कार्यरत शिक्षकलाई व्यवस्थापन गर्न दुई विकल्पमध्ये एक रोजेर असोज १० गतेसम्म ‘अस्थायी शिक्षक विवरण सङ्कलन फाराम’ भर्न आग्रह गरेको छ ।
पाँचवटै क्षेत्रीय शिक्षा निर्देशनालयलाई शिक्षकले भरेका फाराम सङ्कलन गर्न विभागले निर्देशन दिएको छ । सुविधा लिएर अवकाश लिन चाहने शिक्षकले आगामी विज्ञापनको प्रतियोगितात्मक परीक्षाको नतिजा प्रकाशन नभएसम्म फाराम भर्नका लागि सुविधा उपलब्ध गराएको छ ।
अस्थायी शिक्षकले जिल्ला शिक्षा कार्यालयमार्फत फाराम भर्न सक्ने व्यवस्था गरिएको छ । भरिएको फाराम असोज १५ सम्म निर्देशनालय र असोज ३० गतेसम्म विभागमा पठाउन सबै निर्देशनालयलाई निर्देशन दिइएको छ । अहिले देशभरि २०४० सालदेखि करिब १७ हजार अस्थायी शिक्षक छन् ।
