म्याग्दी, १ असोज । म्याग्दीको बेग गाविस–१ बास्बोट र लिस्ने बस्तीका २७ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । बस्तीको दायाँ र बायाँ ठूला पहिरो झरेकोले ती बस्तीमा पहिरोको जोखिम वढेको हो ।
पहिरोको जोखिममा परेको बास्बोट र लिस्नेरीका सबै २७ घर परिवारलाई उद्धार गर्ने प्रयास भइरहे पनि सफल भैनसकेको प्रहरीले बताएको छ । उद्धारका लागि प्रहरी घटनास्थलतर्फ परिचालित भएको छ भने थप सहयोगका लागि पर्वतस्थित सशस्त्र प्रहरी बललाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी केशव आचार्यले बताए ।
बस्ती रहेको पुरै पाखो धँजा–धाँजा परेर फाट्दै बग्न शुरु गरेपछि यहाँका २७ घर परिवार घरबाहिर निक्लेर बसेका छन् । तर, उद्धारका लागि छिमेकबाट कोही पुग्नसकेको छैन । पहिरोमा फसेका स्थानीयलाई नजिकको बेगस्थित महादेव माविमा ल्याई सुरक्षित गर्न रेडक्रसका उद्धारकर्मी त्रिपाल तथा कम्बलसहित राहत सामग्री लिएर घटनास्थल पुगेका छन् ।