काठमाडौं ३१ भदौ । भारतको चारदिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड भारतका विभिन्न औपचारिक कार्यक्रमहरुमा सहभागी हुनुभएको छ । हिजो मध्यान्ह भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्टिय विमानस्थलमा उत्रनुभएका प्रधानमन्त्रीलाई भारतीय विदेशमन्त्री सुस्मा स्वराजले स्वागत गर्नुभएको छ ।
भारत सरकारको अति विशिष्ट राजकीय पाहुनाका रुपमा भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड राष्टपति भवनमा बस्नुभएको छ । भ्रमणको पहिलो दिन आज प्रधानमन्त्री भारतस्थित नेपाली दूतावास जानुभई भारतमा रहेका प्रवासी नेपाली संस्थाका प्रतिनिधिहरु संलग्न कार्यक्रममा सहभागी हुनुका साथै भारतका विभिन्न नेताहरुसँग भेटघाट गर्नुभएको छ ।
आजै प्रधानमन्त्रीले भारतस्थित नेपाल राजदूतावासमा भारतीय नेताहरु बिहारका मुख्यमन्त्री नितीश कुमार, कम्युनिष्ट नेता सिताराम यंचुरी, नेता शरद यादव, केसी त्यागी, डिपी त्रिपाठी लगायतसँग भेटघाट गर्नुभएको छ ।
भेटका अवसरमा दुई देशको आपसी सम्वन्ध र हितका विषयमा छलफल भएको थियो । साझ प्रधानमन्त्री भारतस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रीभोजमा सरिक हुनुभयो ।