Indrenionline.com

दाङमा अबैध नदिजन्य बस्तु ओसारपसार गर्ने ८३ ट्रेक्टर कारवाहीमा

इन्द्रेणी संवाददाता
दाङ, ३० भदौ । दाङका खोलाहरुबाट अवैधरुपमा दुंगाजन्य वस्तु ओसारपसार गर्ने क्रम रोकिएको छैन । रातको समयमा प्रहरी प्रशासनको आँखा छल्दै विभिन्न खोलाहरुबाट ढुंगा, गिट्टी, वालुवालगायतका नदिजन्य वस्तु ओसारपसार गर्ने काम भइरहेको छ ।

खालाहरुबाट अवैधरुपमा नदिजन्य पदार्थ चोरिनिकासी भएको खवर पाएपछि स्थानीय प्रहरी प्रशासनले पनि चोकजाँच तीब्र पार्नुका साथै कारवाहीलाई पनि कडा पारेको छ । यसक्रममा गएको दुई महिनामा अवैध नदिजन्य वस्तु ओसारपसारमा संलग्न ८३ टेक्टरहरुलाई कारवाही गरेको छ । ती टे«क्टरहरुलाई अवैधरुपमा नदिजन्य वस्तु ओसारपसार गरिरहेकै वेला जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला विकास समितिलाई वुझाएको छ । साउन र भदौमा मात्रै यी टे«क्टरहरु कारवाहीमा परेको जिविसले बताएको छ ।

कारवाहीमा परेका टेक्टरहरुलाई जनही ५ हजार जरीवाना गरिएको जिविस दाङले जनाएको छ । जसबाट दुई महिनामा ४ लाख १५ हजार राजस्व संकलन भएको छ । चुरे संरक्षणका लागि भन्दै नदिजन्य वस्तुमा रोक लगाइएका खोलाहरुमा रातको समयमा तस्कारहरुले स्काभेटर लगाएर उत्खनन् गर्ने र रातकै समयमा प्रहरी प्रशासनको आँखा छल्दै ओसारपसार गर्ने गरेका छन् ।

यसैवीच जिल्ला दैबि प्रकोप उद्धार समितिले राप्ती र बबई नदिसहित ११ वटा खोलाहरुका विभिन्न स्थानहरुबाट निश्चित ढुंगाजन्य बस्तु निकासीका लागि प्रकृया अघि बढाएको छ । राष्ट्रपति चुरे संरक्षण समितिमा उत्खनन् र निकासीका लागि अनुमती माग गरिएको र प्राबिधिकको टोलीले अध्ययन तथा अनुगमन गरेपछि त्यसको रिपोर्टका आधारमा उत्खनन् र निकासीको शुरु हुने जिविसका सूचना अधिकृत कृष्ण केसीले जानकारी दिए ।