
विभिन्न ब्राण्डका नेपाली सिमेन्टले बजार लिंदै गएपछि भारतीय सिमेन्टको विक्री घट्दै गएकोे हो । ठूला ठुला सरकारी संरचना निर्माणका लागि ठेक्का लिने ठेकेदारले नेपाली सिमेन्टमा गुणस्तर नभएको भनि केही समय पहिलेसम्म भारतीय सिमेन्ट प्रयोग गर्दै आएका थिए तर अहिले आएर अधिकांश निर्माण कम्पनीहरुले पनि नेपाली सिमेन्टनै प्रयोग गर्न थालेका छन् ।
यसका साथसाथै निजि घरहरु निर्माण गर्ने उपभोक्ताहरुले पनि भारतीय सिमेन्टको स्थानमा नेपाली सिमेन्टनै मन पराउन थालेपछि भारतीय सिमेन्ट विस्थापित हुंदै गएको छ । यस क्षेत्रका उपभोक्ताले नेपाली सिमेन्ट प्रयोग गर्न थालेपछि तथा विकास निर्माण लगायत निजी भवनहरु बनाउने काम तीव्ररुपमा बढ्दै गएपछि बा“केमा सिमेन्ट उत्पादक कम्पनीको चासो बढ्दै गएको छ । बा“केलाई केन्द्र बनाएर सिमेन्ट उत्पादक कम्पनीहरुले मध्य र सुदूरपश्चिममा धमाधम आफ्ना उत्पादनहरु बिक्री गरिरहेका छन् ।
त्यति मात्र नभई बाँके लगायत मध्यपश्चिमका विभिन्न जिल्लामा सिमेन्ट उद्योगहरू पनि खुल्ने क्रम बढेको छ । बाँकेको गनापुरमा सचांलनमा रहेको जय मंगलम सिमेन्ट उद्योग प्रालिले भारतीय सिमेन्टसंग लामो समयसम्म प्रतिष्पर्धा गर्नु पर्यो । भारतीय सिमेन्टको आयातकै कारण धेरै समयसम्म संघर्ष गर्नु परेको सो उद्योगले हाल आएर आफ्नो उत्पादनलाई स्थापित गर्न सफल भएको छ ।
उक्त उद्योगले यति स्टार ब्राण्डका सिमेन्टहरू उत्पादन गरी स्थानीय बजारमा बिक्री गरिरहेको जनाउँदै उद्योगका संचालक सतिश अग्रवालले हाल आएर भारतीय सिमेन्टलाई विस्थापित गर्न सकिएको बताउनुभयो । उहाँले यसका लागि आफूले सरकार र सरकारी ठेकेदारसंगै लामो संघर्ष गर्नु परेको पनि जनाउनुभयो । यो बाहेक अन्य नेपाली उत्पादनका सिमेन्टहरुले पनि क्रमशः बजार लिंदै गएको उहाँको भनाई छ ।
स्वदेशी सिमेन्टको माग बढ्दै जाँदा बा“केको गनापुरमा जय वागेश्वरी सिमेण्ट्स प्रालिको नामबाट ठलो सिमेन्ट उद्योग सञ्चालनमा ल्याईएको छ ।
हाल दैनिक ४ सय ५० टन सिमेन्ट उत्पादन क्षमताको प्लान्ट सञ्चालनमा ल्याएको सो उद्योगले बजारको बढ्दो मागलाई मध्य नजर गर्दै निकट भविष्यमा दैनिक ९ सय टन सिमेन्ट उत्पादन क्षमता बिस्तार गर्ने योजना बनाएको उद्योगका प्रबन्ध निर्देशक निशान्त चाचानले बताउनुभयो ।