काठमाडौँ– भूतपूर्व गोर्खा सैनिक रहेका लछुमन गुरुङद्वारा रचित तथा सङ्गीतकार पारस मुकारुङद्वारा सङ्गीतबद्ध गीति एल्बम ‘अतीत’ सार्वजनिक भएको छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति आयामेली कवि एवम् मुन्धुमविद् बैरागी काइँलाले उक्त एल्बम सार्वजनिक गरेका हुन् ।
बेलायतमा बस्दैआएका भोजपुर, किमालुङका गीतकार गुरुङको यो पहिलो गीति एल्बम हो । एल्बममा ‘गाउँघरको हल्ला नसुन साइँला’, ‘भोजपुरको माटोमा जन्मेका जम्ले भाइ हामी’, ‘भुलेको छैन गाउँघरको माया’, ‘म रुने यता परदेशमा’, ‘के भयो सानु तिमीलाई’ गरी पाँच गीत समाविष्ट छन् । जसमा सङ्गीतकार पारस मुकारुङको एकल सङ्गीत रहेको छ । एल्बममा गणेश रसिक, रिमा गुरुङ होडा, राजेशपायल राई, भीषण मुकारुङ, सागरसंसार राई, सुनिता थेगीम र मुस्कान राईको स्वर रहेको छ ।
एल्बम विमोचन कार्यक्रममा बोल्दै गीतकार गुरुङले गीतमा आफ्नै जीवनका अनुभूतिहरुलाई सरल रुपमा उतार्ने कोसिस गरेको बताए । सङ्गीतकार मुकारुङले सङ्गीत गर्दाको अनुभव सुनाए, ‘गीतकारले गाउँघरको समस्या र परदेशी जीवनलाई जीवन्त ढङ्गबाट शब्दमा उतारेका छन्, तिनै मर्मस्पर्शी शब्दमा मैले सरल सङ्गीत भरेको छु ।’ टु इन ब्रदरद्वारा प्रस्तुत तथा देवी गुरुङद्वारा निर्मित एल्बमलाई सेवा रेकर्डिङले बजारमा ल्याएको हो ।