Indrenionline.com

ईदको नमाजमा दाईजो विरुद्ध सम्बोधन

जियाउल मुस्तफा कादरी
नेपालगञ्ज, २८ भदौ । बाँकेका मुस्लिम समुदायले यसबर्षको बकरीदलाई दाईजोप्रथा बिरुद्धको अभियानका रुपमा मनाएका छन् । मुस्लिमहरुको दोस्रो महान पर्व ईदुल अजहा (बकराईद) को अवसरमा मंगलबार विपि चौकको ईदगाहामा सामुहिक नमाज पढिदा धर्मगुरुहरुले दाईजो प्रथा र महिला हिंसा विरुद्ध प्रवचन दिए ।

आज नेपालगन्जको ईदगाहमा सामुहिक नमाजकाक्रममा गौसिया जियाउल इस्लामका प्रमुख मौलाना जमाल कादरीले मुस्लिम समुदायलाई सम्बोधन गर्दै दाईजो विरुद्ध इस्लाम रहेको र दाइजोको कारण महिला जलाउने कार्यको विरुद्ध सम्पुर्ण मुस्लिम समुदाय लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, कुनै पनि कारणले हुने महिला हिंसा सह्रय हुदैन् ।

दाईजोको कारण मुस्लिम समुदायका कुनै पनि महिला माथी हिंसा गर्ने ब्यक्तिलाई समाजले बहिस्कार गर्नुपर्ने उहाँको भनाई छ । इस्लाममा लोभी पापीहरुको कुनै स्थान नरहेको बताउँदै उहाँले दाईजोको लोभले कुनै पनि घटना भएमा मुस्लिम समुदायले गम्भीरतापुर्वक लिनुपर्ने बताउँदै मौलाना जमाल कादरीले आगामी दिनमा दाईजोप्रथा र महिला हिंसाको विरुद्ध मौलानाहरु लाग्नुपर्ने बताउनुभयो ।

यस्तै मुलुकको अमन चायन र शान्तिको लागि पनि सामुहिक नमाजमा कामना गरिएको थियो ।
इस्लामिक क्यालेण्डर अनुसार यो १२ औं महिना हो । यो महिनापछि नयाँ बर्ष मोहरम सुरु हुन्छ । बकराईदको नमाज पश्चात घरमा खसी भेडा रांगा लगायतका जनावरहरुको कुर्वानी(बध) दिने धार्मिक परम्परा रहेको छ । यो पर्व इस्लामी इतिहासमा पैगम्बर हजरत इब्राहीमले आफनो छोरा हजरत इसमाइललाई अल्लाहको आदेश पालनका निम्ती खुशी खुशी अल्लाहको हुकुम पालन गर्दै आफनो छोराको कुर्बानी गर्न खोजदा छोराको ठाँउमा दुम्बा भेडा कुर्बानी भएकोले त्यही सुन्नतलाई पुरा गर्दैं मुस्लिम समुदाय कुर्वानी गर्दै आएका छन् ।।