काठमाडौं, २८ भदौ । नयाँ सक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फाष्टट्रयाक आफै बनाउन सुझाव दिएका छन् । प्रधानन्त्रीको भारत भ्रमणको तयारी भइरहेका वेला आर्थिक विकासका लागि भारतसँग अनुदान सहयोग नमाग्न भट्टराईले प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।

मंगलवार प्रधानमन्त्री प्रचण्डलाई भेटेर लिखितरुपमा भट्टराईले १० बुँदे सुझाव समेत दिएका छन् । ठूला भौतिक पूर्वाधार योजना सफ्ट लोन लिएर आफैं निर्माण गर्ने नीति लिनुपर्ने भन्दै संयोजक भट्टराईले भारतीय वा अन्यत्रबाट सफ्ट लोन लिएर बहुचर्चित काठमाडौं–निजगढ फाष्ट ट्रयाक नेपालले नै बनाउनुपर्ने बताए । भारतसँग तत्काल थप परियोजना निम्ति सम्झौता गर्नुभन्दा भारतीय लगानी, अनुदान र ऋण सहयोगमा निर्माणाधीन हुलाकी सडक, पञ्चेश्वरलगायतका आयोजना तोकिएको समयमा पूरा गर्नुपर्ने नयाँ सक्तिको सुझाव छ ।