काठमाडौं, २८ भदौ । इन्जिनियरिङ पेशालाई मर्या्दित, प्रभावकारी बनाउन तथा राष्ट्र निर्माणको लागि योगदान पुर्याउने उद्घोषसहित नेपालका प्रगतिवादी इन्जिनियरहरु संगठित भएका छन् । शनिवार राजधानीमा भएको एक राष्ट्रिय भेलाबाट जनगणतान्त्रिक इन्जिनियर्स एशोसियसन, नेपालको गठन भएको हो । 
देशका विभिन्न ठाउँबाट आएका इन्जिनियरहरुको सहभागितामा सम्पन्न राष्ट्रिय भेलामा नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लव प्रमुख अतिथि रहेका थिए । सो क्रममा महासचिव विप्लवले पुरानो सत्ताले न त जनताका अधिकार सुरक्षित गरेको न त देशभित्रका दक्ष जनशक्तिलाई काम दिएर देश बनाउन सकेको भन्दै पुरानो सामन्ती र पुँजीवादमा आधारित सत्ता र विचार रहेसम्म नेपालको विकास हुन नसक्ने बताए । आफ्नो मुठ्ठीभर मान्छेहरुका लागि मात्र सेवा गर्ने पुरानो सत्ता र विचारको शिकार नेपाल लामो समयदेखि बन्दै आएको बताउँदै महासचिव विप्लवले अब आफ्नो पार्टीले यसका विरुद्ध निर्णायक संघर्ष गरेर जनताको हातमा सत्ता सुम्पने र त्यो अभियानमा सहयोग गर्न सबै इन्जिनियरहरुलाई आग्रह गरे ।
सम्मेलनमा नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा जबस ब्यूरो इन्चार्ज मोहन कार्की जिवन्त, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउने, केन्द्रीय आर्थिक विभाग सेक्रेटरी प्रेम दर्नाल विकल्प लगायतले आफ्नो धारणा राखेका थिए ।साथै सम्मेलनमा सहभागी इन्जिनियरहरुले आआफ्नो कार्यक्षेत्र र समग्र इन्जिनियरिङ क्षेत्रमा रहेका समस्या, तिनको समाधान तथा गर्नुपर्ने समाधानका उपायका बारेमा सुझाबमूलक धारणा राखेका थिए । सम्मेलनबाट इन्जिनियर सुरेश कुमार चौधरीको संयोजकत्वमा ३१ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति गठन भएको छ । सो आयोजक समितिले आगमी पाँच महिनाभित्र बृहत राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ ।।