Indrenionline.com

सिड्नीमा ड्रीम्सको भब्य शो, अनमोललाई विवाहको प्रस्ताव

राजन घिमिरे
जब शुक्रबार साँझ सिड्नीको टाउन हलमा रहेको ईभेन्ट सिनेमाको परिसरमा नेपाली सिनेमाका ‘हट केक’ अनमोल केसी देखा परे, तब उनलाई छुन र उनीसँग तस्बिर खिचाउन चाहने नेपालीहरूको हुल नै उर्लियो ।विशेष गरेर अध्यनका लागि अष्ट्रेलिया आएका नेपाली विद्यार्थीहरूको उपस्थितिलाई थेग्नै गार्हो भयो त्यहाँ । नेपाली चलचित्र हेर्न विद्यार्थीहरूको यस्तो भिड पहिलोपटक देखेको कुराले पनि त्यहाँ चर्चा पायो ।


चलचित्र ड्रीम्सको शोका लागि आफ्ना पिता तथा सदाबहार नायक भुवन केसीकासाथ अनमोलको यात्रा पहिलोपटक थियो ।‘पहिलोपटक नै यति धेरै माया पाएँ कि यो मायालाई म भूल्न सक्दिन’ अनमोलले अनलानखबरसँग भने । शो सुरू हुन ढिला भैसकेको थियो, तैपनि भुवन र अनमोलसँग तस्बिर खिचाउने दर्शकहरूको संख्या घटेको थिएन ।

कुनाबाट नारी आवाज आयो ‘आई लभ यू अनमोल । यू म्यारिड मी ‘रु ‘ बाठा अनमोलले पनि तुरून्त जवाफ दिईहाले (‘ तपाईं मलाई माया गर्नुहुन्छ म तपाईंलाई माया गर्छु , बिबाह भन्दा ठूलो भएन र यो ‘’आयोजकले सिड्नीमा तीन शो मात्र सोचेकोमा भीड नघटेकोले थप शो गर्नेतिर पनि सोच बनायो । ‘फिल्म साँच्चै गजबको रहेछ, मन छोयो’ फिल्म हेरेपछि केशव सापकोटाले भने । अधिकांश दर्शकहरूले चलचित्रको विषयवस्तु र अनमोलको काम मन परेको प्रतिक्रिया दिए । यो चलचित्रलाई अष्ट्रेलियामा ल्याएर आफूले स्वादिलो नेपाली चलचित्र हेर्न खोज्ने नेपालीहरूको ईच्छा पूरा गरेकोमा खुशी लागेको बताए आयोजकले ।

चलचित्रका निर्देशक तथा निर्माता भुवन केसी पनि कम दंग छैनन । उनी भन्दै थिए,’चलचित्र जस्तै सालिन र भद्र नेपाली दर्शकहरू पाएँ मैले, चलचित्र मन पराई दिनुभयो, आनन्द लागेको छ ।’ अब यो चलचित्र थप दुई शो सिड्नीमा चल्ने भएको छ भने त्यसपछि अष्ट्रेलियाका अन्य शहरहरूमा पनि प्रर्दशन हुनेछ ।