भदौ २५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सुदुर पश्चिमाञ्चलको विकासका लागि सार्थक प्रयास गर्ने बताउनु भएको छ । शनिबार दिउँसो माओवादी केन्द्रका नेता लेखराज भट्टको नेतृत्वमा आएको सुदुर पश्चिमाञ्चल सरोकार मञ्च, नेपालका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीले प्रत्येक प्रदेशमा मेडिकल कलेज स्थापनाको कार्य आफ्नै कार्यकालमा सम्पन्न हुने जानकारी पनि दिनुभयो । भेटमा सुदुर पश्चिमाञ्चल सरोकार मञ्चका प्रतिनिधिहरुले सेती लोकमार्ग छिटो सम्पन्न गर्न, पश्चिम सेती जलविद्युत आयोजनालाई विशेष प्राथमिकतामा राख्न, पश्चेश्वर परियोजनालाई भारत भ्रमणको एजेण्डा बनाउन, सुदुर पश्चिमका उत्तर–दक्षिण नाका खोल्न पहल गर्न, सुदुर पश्चिमाञ्चल विश्वविद्यालयलाई भौतिक रुपमा व्यवस्थित गर्न, मेडिकल कलेज छिटो स्थापना गर्न, धनगढी बिमानस्थललाई क्षेत्रीय बिमानस्थलको रुपमा स्तरोन्नति गर्न र नीति निर्माणमा सुदुर पश्चिमका व्यक्तित्वहरुको पहुँच बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।