काठमाडौं,२४ भदौ। नेकपा ( माओवादी केन्द्र ) को संसदीय दलको प्रमूख सचेतकमा सांसद टेकबहादुर बस्नेत चयन हुनुभएको छ । शुक्रबार बिहान प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न दलको बैठकले बस्नेतलाई प्रमुख सचेतकमा चयन गरेको हो ।
बैठकले संसदीय बोर्डको कार्यविभाजन पनि गरेको छ ।
बैठकले सांसद बस्नेतलाई प्रमूख सचेतक, सांसद रामनारायण बिडारीलाई बोर्ड सचिवको जिम्मेवारी दिएको छ । त्यसै गरी सांसद अग्निप्रसाद सापकोटालाई संसदीय सुनुवाई समिति, प्रदेश संयोजकको जिम्मेवारी १ नं. मा शिबकुमार मण्डल, २ नं. मा रामसिंह यादव, ३ नं. मा सन्तु दराई, ४ नं. मा कृष्ण धिताल, ५ नं. मा डोरप्रसाद उपाध्याय, ६ नं. मा महेन्द्रबहादुर शाही र ७ नं. मा हरिलाल ज्ञवालीलाई दिने निर्णय बैठकले गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय, प्रादेशिक र संघीय निर्वाचनसम्म वर्तमान गठबन्धन कायम रहने जानकारी गराउँदै दलको भूमिका प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘तीन वटै निर्वाचन सम्पन्न गरिञ्जेलसम्म हामी सरकारमा हुन्छौं । त्यसैले दलको कामलाई प्रभावकारी बनाएर जानुपर्छ ।’ प्रधानमन्त्रीले सरकारले दलीय ध्रुवीकरण घटाएको जानकारी दिँदै भन्नुभयो, ‘देश डरलाग्दो ध्रुवीकरणमा जाने खतरा थियो । सरकारले आन्तरिक राष्ट्रिय सम्बोधन गरेर बलियो राष्ट्रिय एकताको आधार तयार पारेको छ ।’ प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण कुटनीतिक सन्तुलन र सम्बन्धमा केन्द्रित हुने जानकारी गराउँदै दुई छिमेकी देशबाट उच्चस्तरीय भ्रमण हुने तयारी भइरहेको संसदीय दललाई जानकारी गराउनुभयो ।