ओमप्रकाश गुप्ता
देउखुरी २३ भदौ । मुक्त कमैयाहरु लाई राज्यले अझै पनि उचित बसोबासको व्यवस्था मिलाउन नसक्दा कमैयाहरुको दैनिकी जिवन दुखमय बिताई रहेको एक कार्यक्रमका मुक्त कमैयाहरुले गुनासो गरेका छन् । मुक्त कमैया समाज जिल्ला कार्य समिति दाङको आज लमही नगरपालिका १ नर्तीमा भएको जिल्ला भेलामा बोल्ने मुक्त कमैयाहरुले सो गुनासो गरेका हुन् ।
साथै उनीहरुले अझै पनि कतिपय ठाउँमा बस्दै आएका कमैयाहरुलाई राज्यले न्याय दिलाउनुको साटो दमन र उठी बास लगाउन खोजेको आरोप समेत लगाएका छन् । साथै उनीहरुले अव पनि मुक्त कमैयाहरुको उचित बसोबास, आधार पत्र र लालपुर्जा उपलब्ध नगराए आन्दोलनमा समेत उत्रिन बाध्य हुने चेतावनी समेत दिएका छन् । यसका लागि अव सम्पुर्ण युवा मुक्त कमैयाहरु जागरुक हुनु पर्ने समेत बताएका छन् ।
समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षता एवम् समाजका केन्द्रिय सदस्य तथा सल्लाहाकार टेकबहादुर रावतको प्रमुख आतिथ्यतामा भएको भेलामा मुक्त कमैया समाजका क्षेत्रिय अध्यक्ष प्रेम प्रसाद चौधरी, जिल्ला भुमि अधिकार मञ्च संघर्ष समितिका सदस्य टिकाराम चौधरी, समाजका जिल्ला सदस्यहरु मनबुझाउन चौधरी, दुखराम सार्की, सञ्चारकर्मी ओमप्रकाश गुप्ता, कमैयाहरु कनैहालाल चौधरी, टुनटुनराम चौधरी, सिता चौधरी र भगतराम चौधरी लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।
यसै बिच समाजले मुक्त कमैया युवा समाजको डाटा संकलन गर्ने, असोजको दोस्रो साता युवा समाजको जिल्ला भेला सिसहनियाँ ९ बगरापुरमा राख्ने र असोज १३ गते सरोकारवालाहरु सँग घोराहीमा अन्र्तक्रिया कार्यक्रम राख्ने निर्णय समेत गरेको छ । समाजका जिल्ला सदस्य नाजमा चौधरीको स्वाग मन्तव्य तथा कोषाध्यक्ष सुनरुपी चौधरीको विषयवस्तु प्रवेशबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव गुलाम अलि शाहीले गरेका थिए ।
सरकारले २०५७ साल साउन २ गते मुक्त घोषणा गरेको १६ वर्ष पुरा भई सक्दा पनि अहिले सम्म १७ जना कमैयाहरुको जग्गा पहिचान हुन सकेको छैन । हाल सम्म जिल्लामा १ हजार ४ सय २६ जनाले परिचय पत्र प्राप्त गरे पनि छुट कमैयाको सख्या ५ हजार ४६ जना रहेको बताइएको छ । भने जिल्लामा हाल सम्म ६५ जनाले आधार पत्र र ६ सय ८८ जनाले मात्र जग्गाको लालपुर्जा प्राप्त गरेका छन् । २०६३ पौष २० गते १० बुदे सम्झौता समेत भएको थियो ।।