वारा, भाद्र २२ ।
चाउचाउ किन्न भाइसँगै घर नजिकको पसलमा निस्केकी बालिकालाई ललाइफकाई बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला अदालतले एक अभियुक्तलाई ३५ वर्ष कैद सजायको फैसला गरेको छ। कलैया ८ की ८ वर्षीया कञ्चन ठाकुरलाई बलात्कार गरी हत्या गरेको अभियोगमा पिप्राविर्ता ३ घर भई कलैया ८ बस्दै आएका ३० वर्षीय गुल्लु भनिने अरबिन्दलाल दासलाई ३५ वर्ष कैद सजाय भएको हो।
यसबाहेक अदालतले कलैया ८ का ३९ वर्षीय मदनकुमार मिश्रलाई ज्यानसम्बन्धी महल १७ (३) बमोजिम दुई वर्ष र सोही ठाउँका १६ वर्षीय पवनकुमार मिश्रलाई ६ महिना कैदको फैसला गरेको छ। उनीहरू दुवै घटनामा जोडिएका थिए। फैसलासँगै पवन छुटेका छन्। उनी बाल सुधार केन्द्रमा नभई वीरगन्ज कारागारमा २० महिनादेखि थुनामा थिए। मुद्दा फैसला हुन ढिलाइ भएकाले फैसलाअनुसार उनी १४ महिना बढी थुनामा बसेका हुन्।
अरबिन्द निर्वाचन कार्यालयका पूर्वकर्मचारी हुन्। पवन विद्यार्थी र मदनले यसअघि पनि विभिन्न अपराधमा जेल सजाय पाएका थिए। दुवै मिश्र काका भतिजा हुन्। अभियुक्तका परिवारले प्रहरीले डरत्रास देखाएर स्वीकार गर्न लगाई मुद्दा तयार गरेको आरोप लगाए। मुख्य अभियुक्त अरबिन्द नै भएकाले उनलाई ३५ वर्ष, मदनले सूचना लुकाएर घटना ढाकछोप गरेकाले दुई वर्ष र पवनको हकमा मिसिलमा नाबालक प्रमाण रहेकाले उनलाई ६ महिना कैद सजाय भएको अदालतका श्रेस्तेदार मोहन सुवेदी बताए।।