Indrenionline.com

‘चीरहरण’लाई पद्मश्री पुरस्कार, बैरागीलाई सम्मान

काठमाडौं–खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले वि.सं. २०७२ को पद्मश्री पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास ‘चीरहरण’लाई दिने निर्णय गरेको छ । प्रतिष्ठानले आज विज्ञप्ति जारी गर्दै निर्णय सार्वजनिक गरेको हो । प्रतिष्ठानले ०६३ सालदेखि हरेक वर्ष नेपाली साहित्यमा प्रकाशित पुस्तकमध्येबाट छानेर एकल वा संयुक्त रूपमा पद्मश्री पुरस्कार दिँदै आएको छ । पुरस्कारको लागि आवेदन दिनुपर्ने पूर्वव्यवस्थालाई खारेज गरेर प्रतिष्ठानले प्रकाशित कृतिहरु प्रतिष्ठान स्वयंले बजारबाट खरिद गर्ने निर्णय गरेको थियो ।

यसैगरी पुरस्कारको अन्तिम घोषणा हुनुअघि पाँच उत्कृष्ट कृतिको मनोनयन गरी सार्वजनिकसमेत गरेको थियो । ०७२ को पुरस्कारको उत्कृष्ट कृतिको सूचीमा रामलाल जोशीको कथासंग्रह ऐना, कार्कीको उपन्यास चीरहरण, कुमार नगरकोटीको उपन्यास मिस्टिका, गिरीश गिरीको गैह्र–आख्यान वीरगञ्ज र भूपिनको कवितासग्रह सुप्लाको हवाइजहाज परेका थिए । पाँच कृतिबाट विद्वान मूल्याङ्कनकर्ताहरूको निर्णय बमोमिज सर्वोत्कृष्ट कृति ‘चीरहरण’ छानिएको प्रतिष्ठानले जनाएको छ ।
त्यसैगरी पद्मश्री साधना सम्मान साहित्यकार बैरागी काइँलालाई प्रदान गरिने भएको छ ।

पाँच दशकभन्दा बढी समयदेखि नेपाली र लिम्बु साहित्यको श्रीवृद्धिका लागि कलम चलाउँदै आएका काइँलाको नेपालका अन्य स्थानीय भाषा र तिनका साहित्यको उत्थान तथा अनुसन्धानमा पनि सक्रिय योगदान गरेकाले सम्मान प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । काइँलासहितको नेतृत्वले सुरु गरेको तेस्रो आयाम आन्दोलनले नेपाली साहित्यमा वैकल्पिक चिन्तनलाई प्रवेश गराएको प्रतिष्ठानले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त सम्मान यसअघि कवि माधवप्रसाद घिमिरे, आख्यानकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी र कलाकारद्वय मदनकृष्ण श्रष्ठ र हरिवंश आचार्य (मह जोडी)ले पाइसकेको छन् ।

पुरस्कृत र सम्मानित सर्जकलाई अभिनन्दनसहित प्रमाणपत्र र जनही दुई लाख रुपैंया नगद प्रदान गरिनेछ । कोजाग्रत पूर्णिमाको दिनमा पुरस्कार तथा सम्मान अर्पण गरिने प्रतिष्ठानका संरक्षक जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रातोपाटी बाट