काठमाण्डौ, २२ भदौ ।
नेकपा (माओवादी) को जनसरकारले नेपाल सरकारलाई दैनिक उपभोग्य बस्तुको मूल्य घटाउन माग गरेको छ । माओवादी स्थायी समिति सदस्य धमेन्द्र बास्तोलाको नेतृत्वमा जनसरकार प्रमुख सन्तोष बुढामगर सहितको टोलीले सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डलाई आफ्नो जनसरकारले तय गरेको मूल्यसुची लागु गर्नुपर्ने सहितका माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।
प्रधानमन्त्रीलाई ज्ञापन बुझाउँदै माओवादीले दैनिक उपभोग्य बस्तु तेल, चामल, खाना पकाउने ग्यास, दूध, मासु, शिशुलाई खुवाउने पाउडर दूध, पेट्रोल, डिजल, मट्टितेलमा तत्काल ५० प्रतिशत मूल्य घटाउनुपर्ने माग गरेको छ।
सोही क्रममा माओवादी नेता बास्तोलाले जनताको ढाड भाँच्चिने गरी उपभोग्य वस्तु खाद्यन्न, तरकारी, फलफूललगायतमा चरम मूल्य बढेको भन्दै सबैमा नयाँ उपभोक्ता मूल्य तोक्न प्रधानमन्त्री प्रचण्डसंग आग्रह गरेका थिए ।
नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको माओवादीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले जनताका खाद्यमाथिको मौलिक अधिकारलाई स्थापित तथा देशलाई खाद्यन्नमा आम्तनिर्भर गराउनका लागि खाद्यसम्प्रभुता संघर्ष बढाउने निर्णय गरेको थियो । सोही निर्णयअनुरूप प्रचण्डलाई पार्टीले ज्ञापनपत्र बुझाएको बताएको छ ।।