Indrenionline.com

भट्टराईविरुद्धको अवहेलना मुद्दा खारेज

 baburam bhattaraiकाठमाडौँ, २१ भदौ ।  तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई र तत्कालीन महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानविरुद्ध दायर अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ ।

अदालतको अवहेलनाजन्य कार्य नगरेको निष्कर्षसहित प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश गोपाल पराजुलीको संयुक्त इजलासले सोमबार दुवै जनाविरुद्ध साढे तीन वर्षअघि दायर अवहेलना मुद्दा खारेज गरेको हो ।

दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा पक्राउ परेका नेकपा माओवादीका कार्यकर्ताउपर अनुसन्धान तथा अभियोजन नगर्न मातहतका कार्यालयलाई निर्देशन दिई अदालतको अवहेलना गरेको आरोपसहित नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका अधिवक्ता कमलप्रसाद इटनीसमेतले २०६९ माघ ७ गते डा. भट्टराई र प्रधानउपर मुद्दा दायर गरेका थिए ।

पत्रकार थापाको हत्या अभियोगमा दैलेख प्रहरीले स्थानीय माओवादी कार्यकर्ता लक्ष्मीराम घर्तीमगर र अरुण भन्ने बमबहादुर समेतलाई पक्राउ गरी अनुसन्धान सुरु गरेपछि महान्यायाधिवक्ताको कार्यालयले २०६९ पुस २६ गते मातहतका कार्यालयलाई अनुसन्धान तथा अभियोजन अघि नबढाउन निर्देशन जारी गरेको थियो ।

विस्तृत शान्तिसम्झौता र अन्तरिम संविधानबमोजिम द्वन्द्वकालीन मुद्दा सत्यनिरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै महान्यायाधिवक्ताको कार्यालयले अनुसन्धान तथा अभियोजन गर्ने लगायतका कामकारबाही नगर्न प्रहरी प्रधान कार्यालयसहित दैलेखस्थित प्रहरी र सरकारी वकिलको कार्यालयलाई लिखित निर्देशन दिएको थियो ।

द्वन्द्वकालीन जघन्य अपराधका घटनासमेत अदालतबाट निरोपण हुने सर्वोच्च अदालतको फैसलाविपरीत महान्यायाधिवक्ताको कार्यालयले त्यो निर्देशन जारी गरेको आरोप लगाउँदै तत्कालीन महान्यायाधिवक्ता प्रधान र तत्कालीन प्रधानमन्त्री डा। भट्टराईविरुद्ध अवहेलना मुद्दा दायर गरिएको थियो तर सर्वोच्च अदालतले आरोपबमोजिम दुवै जनाबाट अवहेलनाजन्य कार्य नभएकाले मुद्दा नै खारेज गरेको सहप्रवक्ता विश्वराज पौडेलले बताउनुभयो ।