Indrenionline.com

अपहरणकारी पक्राउ

सन्देश श्रेष्ठ/ पोखरा 

घुम्नका लागि पोखरा आएका भारतीय नागरिक सोनु भन्ने खुर्सिद अहमद अपहरणमा परे । भदौ ११ गते पोखरा पुगेका सुनौली जुगौलीका अहमद भोलिपल्टै अपरहणमा परे ।

अपहरणकारीले उनका दाजुसँग एक करोड मागे । उनीहरुले प्रहरीलाई खबर गरे मार्ने धम्की समेत दिएका थिए ।

कास्की प्रहरीले अहमदको उद्धार गरेको छ भने दुई पहरणकारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक भारतीय नागरिक पनि छन् ।

प्रहरीका अनुसार लेखनाथ नगरपालिका ८ शिशुवास्थित अशोक अधिकारीको घरमा बन्धक बनाएको अवस्थामा अहमदको उद्धार गरिएको हो । उनलाई घरको पछाडिबाट डोरी लगाएर तल झर्दै गरेको अवस्थामा स्थानीय र प्रहरीको टोलीले उनको उद्धार गरेको थियो ।

घटनास्थलबाट प्रहरी एक थान पेस्तोल बराकद गरेको छ । अहमदको अपहरणमा संलग्न भारत उत्तर प्रदेश घर भई पोखरा नयाँ बजार बस्ने कुसेरी पक्राउ परेका छन् ।

उनी अपहरणमा प्रयोग भएको गाडीका चालक हुन् । अपहरणकारी कुसेरीलाई सहयोग गर्ने नवलपरासी कावासोती नगरपालिका वडा नम्बर ११ का २१ वर्षीय अरुण घलेलाई पनि पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।