Indrenionline.com

कसरी मनाउने तीज ?

स्वेच्छा दाहाल

सामाजिक सञ्जालमा विश्वभरि छरिएका नेपालीले तीज उत्साहपूर्वक मनाएको देख्दा मन रोमाञ्चित हुन्छ। आर्कषक पहिरन, सुन्दर मुहार अनि उल्लासमय वातावरणका रंगीन तस्बिर हेर्दा लाग्छ– ओहो, हामी नेपाली कति सुखी र सम्वृद्ध छौं। तर के साँच्चै यही नै हो नेपाली महिलाको यर्थाथरु

केही दिनअघि एक मित्रको सामाजिक सञ्जालको पोष्ट सम्झें,  जहाँ केही नेपाली महिला  डरले बुर्काले अनुहार छोपेर कोलोम्बो हुँदै जागिरका लागि  विदेश हिँडेका थिए। कैंयौं नेपाली दिदीबहिनी  दुई छाकको जोहो गर्न खाडीको तापमा रगत पसिना बगाउँदैछन्।

ती दिदीबहिनीलाई आएको होला तीज तर कसरी मनाउलान् तिनले तीजरु तीज भन्दा केटाकेटी बेलामा देखेको  टोलटोलमा रातो रंग र दुःखको गीतमा पनि हाँस्दै नाचेका महिलाको तस्वीर आउँछ  मलाई, त्यस बेला तीज दुई दिनमा सीमित थियो, दर खाने दिन र व्रत बस्ने दिन। काठमाडौंमा हिजोआज यो बढी मनाइन्छ तर गाँउतिर दुई दिन नै मनाइन्छ। त्यसबेला तीज त्यस बेला महिलाहरूमाथि हुने समाजिक तथा पारिवारिक भेदभाव र हिंसाको बारेमा बोल्ने एक मात्र माध्यम थियो। अहिले परिस्थिति फेरिएको छ महिलामाथि हुने हिंसा घरमा मात्र सीमित छैन यसको दायरा र प्रभाव दुबै बढेको छ।

अहिले तीज मनाएकाहरुको तस्बिर र तीज कसरी मनाउने भने विचारले सामाजिक सञ्जालमा राम्रै स्थान पाएको छ। कसैले यसलाई महिला अधिकारको विषय बनाएका छन् भने कसैले यसलाई समाजिक विकृतिको रुपमा लिन्छन्। महिला अधिकारको प्राप्तिको रूपमा लिउँ भने अझै श्रीमान्को गोडाको पानी खाइन्छ अनि विकृति भनौं भने महिलाहरु खुसी भएर हिँडेको देख्दा रमाइलो नै लाग्छ।

अनि हामीले अरु केहि नपाएको भए पनि वैचारिक स्वतन्त्रता पाएका छौ जसको प्रयोग पनि हामी राम्रै गर्छौं। त्यही स्वतन्त्रताको प्रयोग राजनैतिक दलले नि राम्रैसँग गर्छन् महिला सहभागिताका चर्को भाषण गरेर। तर कार्यन्वयनरु

प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रीमण्डलमा ३० जना मन्त्री छन् त्यसमा ३ जना मात्र महिला छन्। त्यसमा पनि २ जना त राज्य मन्त्री। महिला क्षमतावान नभएकाले पनि मन्त्री बनाउन नसकिएको भन्ने तर्क सुनियो। माफ गर्नुहोला– मन्त्री भएका पुरुषहरू पनि कोही हावर्ड पढेर आउनु भए जस्तो लाग्दैन।

नीति निमार्णमा महिला सहभागिता न्यून भएतापनि देशको अर्थतन्त्र धानेको वैदेशिक रोजगारीमा महिला सहभागिता राम्रै छ। २०११ को जनगणनाको विवरण हेर्दा जम्मा जनसंख्याको ७।३ प्रतिशत जनसंख्या मुलुक बाहिर रहेको देखिन्छ। विदेशिएका जनसंख्यामा अध्ययन तथा रोजगारका लागि भारत लगायतका सबै देश बाहिरका संख्या पर्दछन्। यस जनसंख्याका विभिन्न पक्षहरुको बारेमा नेपाल श्रमशक्ति सर्वे २००८ तथा नेपाल लिभिङ स्टान्डर्ड सर्वे जस्ता अध्ययनले विस्तृत विवरण दिएको पाइन्छ। आर्थिक वर्ष २०७०/०७१  असार मसान्तसम्म वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिने महिलाको संख्या २८ हजार ९ सय ६६ रहेछ। जसमा अधिक संख्यामा महिलाहरु मलेसिया र कुवेत जाने गरेका छन्। यी त स्वीकृति लिएर जानेको संख्या बिना स्वीकृति भारत भएर जाने को एकिन तथ्याङ्क कतै भेटिदैँन। यसरी खुला सीमाना प्रयोग गर्नेमा पुरुषभन्दा महिला बढी रहेको अन्तर्राष्ट्रिय श्रम संगठनको रिर्पोटले देखाउँछ।

महिला विदेशिनुको असर सिंगो परिवारमा पर्छ। दुधे बालबच्चालाई रुँदै छोडेर लथालिङ्ग घरव्यवहार छाडेर महिलाहरू विदेशिएका छन् यसले कालान्तरमा नेपाली समाजमा धेरै असर गर्नेछ। एकातिर घरको अवस्था हुन्छ भने अर्को तिर काम गर्ने वातावरण सोचेजस्तो नहँुदा महिलाले मानसिक, आर्थिक तथा सामाजिक सबै खालका समस्याका सामना गर्नु परेका छ। यो अवस्थाको बारेमा सम्बन्धित निकायको ध्यान नगएको होइन विभिन्न नीति तथा निर्देशिका बनाइएका छन् र कार्यान्वयन पनि भएका छन्। वैदेशिक रोजगारीको क्रममा भोग्नुपरेका अफ्ठ्यारा तथा दुःख सुनुवाई तथा न्यूनिकरणका लागि वैदेशिक रोजगारी ऐन  सन् २००७ तथा विनियम २००८ कार्यान्वयनमा ल्याएको छ, यसमा वैदेशिक रोजगारीको क्रममा हुने ठगी तथा हिंसाका घटनालाई समेत समावेश गरिएको छ।

नेपाली श्रमिक महिला पुरुष दुवैको अवस्था राम्रो छैन, हिंसा, मृत्यु, ठगी जस्ता अनेक समस्याको बारेमा सञ्चार माध्यममा खबर हाम्रो लागि नौलो होइन। हिंसाका घटनाको उजुरीको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७०÷०७१ म व्यक्तिगत र संस्थागत गरी २३०५ उजुरी परेका रहेछन् जसमध्ये विभिन्न माध्यममार्फत् ५७४ उजुरी उपर सुनुवाई भएको देखिन्छ। यो तथ्याङ्क हेर्दा समस्या खासै रहेनछ भन्ने लाग्ला तर यसका अन्य पक्ष पनि हेर्नुपर्छ। जस्तै –पुराना उजुरी उपर भएका कारवाहीको अवस्था, पहुँच तथा प्रभावकारिता। सरकारी तथ्याङ्क नै सन्तोषजनक छैन अझ यर्थाथ त काहाली लाग्दो नै छ।

तथ्याङ्कमा हराएका मुलुकको नजरमा नपरेका यी विदेशिएका महिलाको जीवनको मोल नभएको अवस्थामा यी महिलाको तीज कस्तो होला भन्ने प्रश्नको के अर्थ। हुन त संसारभरि नै महिलाको अवस्था लगभग उस्तै छ। तर विश्व मानव विकास सुचाङ्कमा माथि पर्ने स्क्यानडेभियन राष्ट्रमा महिलाहरूको अनुभव नेपाली महिलाको भन्दा फरक छ। नर्वेमा लैङ्गिक समानताको सुचाङ्क निकै राम्रो देखिन्छ। कसरी यस्तो सम्भव भयो भनेर अध्ययन गर्दा पिस रिर्सच इन्स्टिच्युट ओस्लोको एक अध्ययन प्रतिवेदनअनुसार केही प्रावधान तथा सरकारी कार्यक्रम आंैलाएको छ। जसमध्ये त्यहाँको राजनैतिक संस्कार, जहाँ चुनावअघि गरिएका प्रतिवद्धता भाषणमा सीमित रहँदैन र लैङ्गिक समानता सुनिश्चित गर्ने तत्परता सबै तहतप्कामा हुन्छ। लैङ्गिक संवेदनशील सरकारी योजाना जहाँ तलबी सुत्केरी विदा वर्ष दिनसम्म दिइन्छ, उदार बाल विकास योजना र सुविधा सम्पन्न शिशु स्याहार केन्द्र छन्। समग्रमा समाज कल्याणमा सरकारले निकै ध्यान दिने गरेकोे छ।

हाम्रो परिवेश र आवश्यकता फरक होला, नर्वेजस्तो कल्याणकारी राज्यको अवधारणा हामी अंगिकार गर्न नसकौंला तर केही संवेदनशील विषयमा ध्यान दिने बेला भएको छ। यहाँ विषय तीज, महिला र महिलाले वैदेशिक रोजगारीको क्रममा भोग्ने समस्याको मात्र होइन, आमा विदेशिएपछि परिवार र बालबालिकामा पर्ने प्रभावको बारेमा पनि सोच्न जरुरी छ। पूर्ण परिवारमा र्हुकने बालबालिकाको मनोविज्ञान, स्वास्थ्य र सामाजिक विकास   अपूर्ण परिवारको बालबालिकाभन्दा निश्चय नै फरक हुनेछ। यसले कालान्तरमा परिवारमा विघटन, कुलत, दुव्र्यसनी तथा समाजिक समास्या सिर्जना गर्नेछ।

अब तीजमा महिलाका पहिरन र समाजिक सञ्जालमा अतिरञ्जित उत्सवको मात्र चर्चाभन्दा महिलासँग सम्बन्धित अन्य विषय पनि बहसको विषय बन्न जरुरी छ। अनि महिला अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाले पनि फरक ढंगले तीज मनाउने  हो कि !