Indrenionline.com

भड्किलो तीज : वर्ग विभेद , मौलिकताको स्खलन र गलत संस्कारतर्फ उन्मुख

14202852_1449567908405330_227610115_o

नजिकैदै गरेको २०७३ सालको तीजको रौनकताको विषयमा इन्द्रेणी अनलाइनका अतिथि सम्पादक धनिराम शर्मा (ऋतुविचार) ले चर्चित साहित्कार, कलाकार र सामाजिक अभियान्तासंग भड्किलो बन्दै गएको पर्व तीजको सन्दर्भमा टेलिफोन संवाद गर्नु भएको छ । संवादमा कलाकार तथा साहित्यकार लता कार्की सुनसरी , साहित्यकार तारा पराजुली मोरङ सामाजिक अभियान्ता पुनम खड्गी  काठमाण्डौ रहनु भएको छ । प्रस्तुत छ फरक तीन विधाका यी नारीहरु संगको संवाद ।

भड्किलो तीजले समाजमा ठूलो विभेदको रेखा देखाउदै छ  

लता कार्की /सुनसरी

नाट्य विधा कलाकार तथा प्रगतिशिल साहित्यकार हुन् प्रविणता तह हासिल गरेकी लता कार्की लामो सयमदेखि साहित्य र नाट्य विधामा क्रियाशिल छिन्,सुनसरीको इटहरी स्थायी घर भएकी लता नाट्य विधाको कुशल कलाकार तथा प्रगतिशिल साहित्यकार हुन्, साहित्य संगितमा अभिरुची राख्ने कार्की नाट्य विधाको केन्दीय उपाध्यक्ष समेत रहेकी छिन् । कार्कीले सरुभक्तको शिशिरको अन्तिम दिनहरु, विजय मल्लको कोही किन बर्वाद होस् किशोर अनुरागको मादलको खरी लगायतका नाट्य भूमिका रहेकी हुन् , कला र संगीतिका पारखी लतासंग नजिकिदै गरेको तीज मनाउने नाँउमा हुने गरेको प्रवृत्तिको विषयमा हामीले कुराकानी गरेका छौ ।

यहाँलाई स्वागत छ
धन्यवाद

तीज र हिन्दु नेपाली महिलाबीच कस्तो सम्बन्ध छ ?
महिलाहरुको महान चाड हो, जुन एक वर्षमा एक पटक आँउछ, वर्ष दिन चेलीले भोगेका अन्तर कथाहरुको प्रस्तुती गर्ने अवसर हो । यद्यपी समाज अलिक विकसिकत भएको छ, तर मौलिकताको ख्याल गरि महिलाको दुख मात्र नभएर अधिकार र सशक्तिकरणको पाटोमा जानु पर्ने हो ।तर अवस्था तेस्तो छैन, पहिलेको तीज मनाउने र आजभोलि मनाइने तीजमा हुने व्यवहारहरु विल्कुल भिन्न छन्, वर्षभरिको दुःख कष्टको कथालाई तीज गीतको माध्यमबाट पोख्न गरिन्थ्यो तर अहिले देखासिकी भड्किलो खर्चिलो गर्ने चलनले तीजको मर्यादालाई नै खल्लो बनाइदिएको छ ।

तडकभडकको व्यवहारले समाजमा कस्तो प्रभाव परेको छ ?
मौलिक संस्कृतिमा आस्था र विश्वास गर्नेहरुलाई यस्ता खाले व्यवहारले ठूलो चुनौति थपिदिएको छ । नेपाली महिलाहरुको पहिचान बनेको तीज आज डिस्को डान्सबार होटेल प्यालेसमा ह्रिवस्कीमा बदलिएको छ । जसले हाम्रो मौलिकतामाथि नै धावा बोलको छ । यतिमात्र होइन हाम्रो नेपाली समाजको सम्बन्ध बनोटमाथि अविश्वास पैदा गरिदिएको छ, विस्तारै विश्वास र आस्थाहरु मर्दै गएका छन् । सामाजिक आत्मीयता मर्दै गएको छ । नेपालीपनको मौलिकतामाथि प्रश्न उठेको छ, मौलिकता गुम्दै गएको छ ।

समाज थप विभेदतिर उन्मुख हुदैछ त ?
हो समाज थप विभेदतिर उन्मुख छ, हुने खाने र हुँदा खानेबीच टकराव देखिएको छ, हुँदाा खानेहरुमा हिनता निरिहता र ग्लानीको विकास हुदैछ भने सम्पन्नहरुले धन दौलत पोशाक प्रदर्शन गर्ने अवसर बनेको छ । यतिमात्र होइन, भ्रष्ट तस्करहरुको कालो धन यस्तै क्षेत्रमा खर्चिएको छ ।यसबाट उनीहरुलाई हौसला मिलेको छ , किन कि विद्यमान समाजले पैसा हुनेहरुको प्रतिष्ठा र सम्मान गरिहेको छ, नहुनेहरुको तीज खुशीको बहार भन्दा पनि हिनताको जहर बनेर आउने गरेको छ । यसबाट समाजको विभेदकारी रेखाहरु बलिया भएको देख्न सकिन्छ । हुने खाने संभ्रान्तहरुले गरगहना धन सम्पत्ती प्रदर्शन गर्न मन्दिरमा पूजा गर्ने र विपन्नहरुलाई दुरव्यवहार गर्ने प्रवृत्तीहरु हावी हुदै गएका छन् ।उनीहरुको व्यवहारले विपन्न महिलाहरुमो खिन्न्ता र निराशालाई प्रशय दिइरहेको छ ।

भड्कीलो यस्तो गलत संस्कारलाई कसरी निरुत्साहित गर्न सकिएला त ?
मौलाउदै गएको गलत प्रवृत्तीलाई रोक्न तीज आउने एक महिना अघिदेखि होटेल्स रेष्टृरेन्ट र पार्टी प्यालेसमा तीजको दर खाने गलत प्रचनलाई रोक्नु पर्छ, तीजको अघिल्लो दिन र तीज तिथिमा मात्र तीजलाई मनाउन पाउने व्यवस्था गर्न सकेपनि यसमा सुधार आउन सक्छ । साथै तीजको वाहानामा एक महिलाले अर्काै महिलामाथि मानसिक आर्थिक र सामाजिक उत्पीडन गरिरहेको छ, सबै महिलाहरुको स्वाभिमान आत्मसम्मान र आत्मगौरवलाई सम्मान गर्ने बाताबरणको निर्माण गर्न सके मौलिक संस्कृति तीजको गरिमा र महत्व पनि कायम रहन्छ, यद्यपी यसो गर्न नसकिए भावी पीढिको लागि पनि तीज जहर बन्ने छ ।

राज्यको भूमिका के देख्नु हुन्छ ?
राज्यले संस्कृतिको संरक्षणको दायित्व पुरा गर्नुपर्दछ, संरक्षणसंगै सम्वद्र्धन पनि गर्न पहल गर्नुपर्दछ यति मात्रै होइन हामी सामाजिक साहित्यीक कलाकारिता र पत्रकारिता जगतले यस्ता गलत संस्कार र व्यवहारलाई निरुत्साहित पार्न कम्मर कस्नै पर्दछ । तीज धर्मसंग पनि जोडिएकोले सामाजिक मुल्य मान्यताको सम्मान गर्ने संस्कारको विकास गर्न सक्नुपर्छ, राज्यले कानुनी उपचार गर्ने हो कानुनी कुरा पनि सामाजिक मुल्यले प्रभाव पार्ने भएकोले पहिलो कुरा समाज अनि राज्य जिम्मेवार बन्ने पर्दछ ।
अन्तमा ?
तीज सबैको बनोस् तीज मनाउने नाँउमा भड्कीलो र खर्चिलो नबनाउ, तीजका नाँउमा हुन सबैखाले विकृतिको अन्त्य गरि समाजलाई स्वच्छ र सभ्य बनाउनका लागि सबैमा तीजको शुभकामना व्यक्त गर्दछु । साथै तपाई अनि इन्द्रेणी अनलाईन परिवारलाई मेरो विचार राख्न दिएकोमा हार्दिक आभार व्यक्त गर्दछु ।

मौलिकताको स्खलन हुदै गएको छ

तारा पराजुली / मोरङ

त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गरेकी तारा पराजुली लोकप्रिय कवि हुन् । पछिल्लो समयमा कविता विधामा चर्चा कमाएकी पराजुली प्रगतिशिल विचारले ओतप्रोत छिन। श्रृजनाको धनी पराजुली कन्दरा द्धैमासिक बुलेटिनको सम्पादक तथा जन साहित्य मन्च नेपाल मोरङको सचिव समेत रहेकी छन् ।

स्वागत छ यहाँलाई
धन्यवाद
तीज कस्तो पर्व हो ?
पौराणिक कालदेखि चल्दै आएको संस्कार हो, हिन्दु महिलाहरुको पहिचान दिने एक उत्सव हो, जसको आफनै मौलिक खालको गरिमा छ , समय सन्दर्भले तीज मनाउनमा केही भिन्नता त हुन सक्छन्, किन कि समाज गतिशिल छ । पुस्ताले मनाउने तीज र तीज गीतका शब्द दुःखको कहानी हुन्थ्यो भने अहिलेको भिन्न र जटिल समाजमा अधिकार र विचारपूर्ण शब्दहरुको प्रस्फूटन गर्ने माध्यम हो । यद्यपी पछिल्लो चरणमा तीजको मौलिकता मर्दै गएको छ ।
पछिल्लो पीढीले तीजलाई कसरी मनाईरहेको छ ?
तीज परम्परागत महिलाहरुले मनाउने महान चाड हो, समाजमा गलत सन्देश दिनखालको मनाउनु हुदैन तर पछिल्लो चरणमा तीजलाई भड्किलो बनाउने होड नै चलेको छ । चेलीको कथा व्यथाको संयोजन गर्ने पर्व अहिले ठूला ठूला होटेल्स प्यालेसमा ठूलो धनराशी खर्चेर देखाउनका लागि गरिने प्रवृत्तीले तीजको गरिमालाई ठेस लागेको छ। जसले गर्दा तीजको मौलिकता मर्दै गएको छ । रुपमा तीज मनाएको देखिपनि सारमा तीजको आत्म मर्दै गएको छ ।
भड्किलो व्यवहारले समाजलाई कस्तो प्रभाव पारेको छ ?
पर्व मनाउने नाँउमा समाजको केही हुने खाने समूहरुले समाजमाथि हस्तक्षेप नै गरेको छ । यति मात्र होइन चाडपर्व धनी र सम्पन्नहरुका लागि मात्रै हो भन्ने गलत सन्देश दिएको छ, पैसाको बलमा हिनता र अभिमान समाजमा जन्माइदिएको छ, देखासिकी गर्ने र देखाउनकै लागि भएपनि खर्च गर्ने परिपाटीको विकास भएको छ, तीज मनाउने नाँउमा ऋणधन गरेर खर्च गर्ने र वर्षभरि ऋणको भारी बोक्ने गरिन्छ । हुने खानेले त सजिलै खर्च गर्न सक्छन् तर नहुनेहरुका लागि पर्व भन्दा पनि ऋणको भारी लिएर आउने कष्ट हुने गरेको दृष्टान्त काफी छ । जसले समाजलाई थप विभेदमा विभक्त गरेको छ ।

तीजले कस्तो सन्देश दिइरहेको छ ?
तीज महिलाहरुले मनाउने पर्व भएपनि पछिल्लो समय आधुनिकताका नाँउमा पुरुषहरुले पनि मनाउने होड नै चलेको छ, विशेष गरि तीज सामाजिक मूल्य मान्यताको ख्याल गरि मनोरन्जनसंगै सामाजिक सन्देश दिने बनाउनु पर्ने हो तर त्यो हुन सकेको छैन , तीजले सामाजिक र सांस्कृतिक महत्व राख्ने गर्दछ, समाजलाई सही दिशामा हिडाउन र सामाजिक एकता अनि सांस्कृतिक मौलिकतालाई कायम राख्ने काम भएका छैनन् जसले समाजलाई सही सन्देश दिन सकिरहेको छैन । हाम्रो मूल्य मान्यता भत्किदै गएका छन्, भने समाजलाई सशक्तिकरण भन्दा पनि बिलाषिता गर्दै गएको छ ।

समाजलाई के भन्न चाहानु हुन्छ ?
तीज मनाउदा आफ्रनो मौलिकतालाई ध्यान दिदै त्यसैको अवसरमा सडकमा रोग भोक अभावले छटपटाएका महिलाहरुलाई एक गास खान दिएर भएपनि पूण्य कमाउने तिर गम्भीर रुपले सोचिनुपर्छ । भगवानलाई खुशी बनाउने हो भने होटेल पार्टी प्यालेसमा गरिने खर्च सडक गल्लीमा रात कटाउनेहरुका एक गास खुवाउने प्रयत्न गरे सबै भन्दा ठूलो धर्म नै त्यही हुनेछ ।
अन्तमा ?
तीजलाई सभ्य र भव्यरुपले मनाउन सबै दिदी बहिनीमा शुभकामना दिन चाहान्छु साथै तीजको सन्दर्भमा मेरो अभिमत लिनु भएकोमा विशोष गरि तपाई अनि इन्द्रेणी अनलाई परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

नेपालीको मौलिकतामाथि नै धावा बोलेको छ

पुनम खड्गी  / काठमाण्डौ

पुनम खड्गी त्रिभूवन विश्वविद्यालयबाट स्नातक उत्तिर्ण गरेकी छन्, विशेष गरि सामाजिक रुपान्तरणमा विगत ६ वर्षदेखि कृयाशिल खड्गी  पिस फर नेपाल सामाजिक संगठनको कार्यकारी निर्देशक समेत हुन् । उनीसंग तीजको विषयमा गरिएको कुराकानी यहाँ उल्लेख छ ।

यहाँलाई स्वागत छ
धन्यवाद
तीजलाई कसरी हेरिरहनु भएको छ ?
तीज नेपाली हिन्दु महिलाहरुको मौलिक पर्व हो, तर पछिल्लो चरणमा हाम्रो मौलिक मूल्य मान्यता विपरित गतिविधिले तीजको गरिमालाई कमजोर बनाइरहेको छ । देखाउन र देखासिकीको प्रचलन ह्रवात्तै बढको छ, जसले नेपालीपनमाथि नै धावा बोलेको छ ।

अहिलेको तीजमा कत्तिको मौलिकता पाउनुहुन्छ ?
मौलिकता विस्तारै मर्दैछ, मौलिकता रुपमा मात्र छ, सारमा देखिदैन, तीजका नाँउमा निकालिएका गीत संगितहरुले नेपाली समाजलाई नै उधो गतितिर लैजादै छ, उत्ताउलो र उरन्ठ्याउलो गीत संगितले समाजलाई दुषित बनाउदै छ । स्वतन्त्रताको नाँउमा नेपाली मौलिक संस्कृतिलाई मार्ने काम भएको छ ।
परम्परगत संस्कारलाई जसरी मनाउदा पनि हुन्छ होला नि ?
होइन चाडपर्व मनाउन पाउने सबैको अधिकार छ, सबैलाई आफूखुशीले मनाउने हो, आफूखुशी भनेको समाजलाई गलतदिशातर्फ धकेल्न गरि मनाउन हुदैन , पछिल्लो समयमा तीजलाई उपयोग गरेर ढोङ र आडम्बरवादी संस्कारको प्रदर्शन गरिदै आएको छ । जसले समाजलाई अस्थिर बनाउन र सामाजिक सम्बन्धहरुलाई कमजोर बनाउन सहयोग गरिरहेको छ । मानिसले मानिसको सम्मान र इज्जत पैसाको बलमा हुने संस्कारलाई प्रश्रय दिइरहेको छ । तर तीजको अर्थ त यो होइन , यद्यपी यस्तै खाले गलत व्यवहारको प्रदर्शन भैरहेको छ ।

तीजलाई महिलाहरुको एकता तथा सशक्तीकरणको बलियोे सांस्कृतिक आधार बनाउ सकिदैन र ?
सही भन्नु भो, हामीले परम्परागत मौलिक संस्कारलाई संरक्षण गर्दै महिलाहरुबीचको एकताको आधार बनाउनु पर्छ । महिला महिलाबीचको दुरव्यवहार र विभेदको अन्त्य गर्ने अवसरको रुपमा लिन सके समाजको विभदेलाई निरुत्साहित गर्न सकिन्छ । यद्यपी होटेल्स पार्टी प्यालेसमा ठूला धनराशी खर्चेर मनाइने तीज, तीज नभएर सामाजिक विकृति हो यसलाई रोक्नुपर्छ र तीजलाई अब दुखको कथा बहकाउने भन्दा पनि सवल र सशक्तिकरणको पक्षमा उपयोग गर्नुपर्छ ।

तपाई सामाजिक अभियान्ता पनि हुनुहुन्छ तीजको अवसरमा के सन्देश दिन चाहानुहुन्छ ?
पछिल्लो चरणमा तीज मनाउने नाँउमा भैरहेका अस्वभाविक व्यवहारहरुलाई निरुत्साहित गर्दै सबै नेपाली हिन्दु महिलाहरुको साझा तीजको रुपमा मनाउने बाताबरण निर्माण गरौ भन्न चाहान्छु । साथै ऋण धन गरेर तीज मनाउने, देखासिकी अस्वभाविक गरगहना र पोशाकको प्रदर्शन गर्ने गलत संस्कारको अन्त्य गर्दै सभ्य र शालिन समाज निर्माणमा सबैले पहल गरौ भन्न चाहान्छु ।
अन्तमा ?
अन्तमा तीजको अवसरमा मलाई मेरा विचारहरु राख्न दिएकोमा विशेष गरि तपाई अनि इन्द्रेणी अनलाइन परिवारलाई हार्दिक धन्यवाद दिन चाहान्छु साथै संपूर्ण नेपाली हिन्दु महिलाहरुमा २०७३ सालको तीजको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छु ।