Indrenionline.com

‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’

‘तीजको रमाइलो आयो बरी लै’ जस्ता गीत बज्न थालेको निकै दिन भयो ।  यसले हिन्दू नारीहरूको महान् चाड तीज नजिकिँदैछ भन्ने सन्देश दिन्छ ।  टेलिभिजन, रेडियो, युट्युबमा तीजका गीत बजिरहेका छन् ।  हिन्दू धर्म, संस्कृतिमध्ये नारीहरूको महान पर्व तीजको दर खाने दिन शनिबार परेको छ ।

प्रत्येक वर्षको भाद्र शुक्ल द्वितीयाका दिन दर खाने र तृतीयाका दिन निराहार बसेर शिवको पूजा गरिन्छ ।  धार्मिक रूपमा तीज पर्व महिलाले पुरुषप्रति गरेको त्याग र समर्पणको जीवन्त कथा हो ।  पार्वतीले आफ्ना पति रोज्ने अधिकार स्थापित भएको पर्व तीज हो ।

महिला अधिकारको गरिमामय चाडका रूपमा रहेको यो पर्व मनाउने क्रममा पछिल्ला वर्षमा केही विकृति भित्रिएका छन् ।  बढ्दो तामझाम र सहरीया जीवनशैलीमा आएको परिवर्तनले चेलीलाई घरमा बोलाएर मीठोमसिनो खुवाउने चलन अब होटल, क्याटरिङ र रेस्टुरातिर सरेको छ ।

विभिन्न पारिवारिक समूह, सङ्घ, संस्था, टोलछिमेक र पार्टीहरूले चेलीबेटीलाई दर खुवाउन यस्तै ठाउँमा बोलाउने गरेका छन् । धेरै दिनसम्म दरको नाममा भोज खाने गर्नाले अस्पतालमा पेटका रोगीको सङ्ख्या बढेको पाइएको छ ।  तीजको रमाइला गीतमा एउटा गीत थप्नुपर्ने भएको छ ।  त्यो हो– ‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’ ।

 तीज आउनु निकै अघिदेखि दर खान थालेका महिलालाई परम्पराका गीतका सट्टा चेतनामूलक यस्तै गीत गाउनु सुनाउनुपर्ने अवस्था आएको छ ।  तीज आउनु महिना दिनअगावैदेखि दर खाएर पेट दुखाएका महिलाले केही दिनयता आयुर्वेद औषधालय धाउन थालेका छन् ।

बागमती अञ्चल आयुर्वेद औषधालय जयवागेश्वरी र यस अन्तर्गत भद्रबास, इचङ्गुनारायण, कीर्तिपुर, मातातीर्थ र दक्षिणकाली स्वास्थ्य केन्द्रमा दैनिक सरदर २० देखि ३० जना महिला पेटमा खराबी भएको भन्दै उपचार गर्न आउने गरेका छन् ।

जयवागेश्वरीस्थित बागमती अञ्चल आयुर्वेद औषधालय प्रमुख डा। रुपेन्द्र पुरी भन्नुहुन्छ, ‘‘महिलाहरूले तीजको दर खाएरै पेट दुख्यो भनेर खुलाउँदैनन् तर स्वास्थ्य परीक्षण गर्न आउँदा लगाइएको पहिरन र भेषभूषाबाट दरले नै पेट गडबड भएको प्रस्ट्याउँछ । ’’ यस औषधालय अन्तर्गतको भद्रबास, इचङ्गुनारायण, कीर्तिपुर, मातातीर्थ र दक्षिणकाली औषधालयमा पेट खराब भएका महिला बढी आउने गरेका छन् ।

दर खाने भन्दैमा अबेर रातमा खाने, भोक लागेका समयबाहेकका अवस्थामा धेरै थरिका चिल्ला, पिरा, मसलेदार परिकार खाने र सादा भोजनको सट्टा वाइन बियरसहित पेयपदार्थ पनि दरका नाममा भित्रिएकाले यो समस्या देखा परेको डा। पुरी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ– उच्च रक्तचापका बिरामीले नुन भएका धेरै परिकार खानै हुन्न यसले नुनको मात्रा बढाएर रक्तचाप बढाएको र चिल्लो खान नहुने ग्यास्ट्रिक पीडितले पेट दुखाएको घटना देखा परिरहेको छ ।  स्वच्छ पानी पिउने र दर खाने स्थान सरसफाइयुक्त छ छैन ख्याल नगर्ने यहाँ देखियो ।