उदय बीसी
दाङ । अबको पाँच वर्षमा दाङ माछा उत्पादनमा आत्मनिर्भर बन्दैछ । यसअनुसार जिल्लामा व्यवसायिक माछापालन कृषकहरु बृद्धि हुँदैछन् । जिल्ला कृषि विकास कार्यालय दाङले पनि जिल्लालाई करीव पाँच वर्षभित्र माछा उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य र लक्ष्यका साथ जिल्लामा माछापालन व्यवसायलाई विस्तार गर्दैछ । जसअनुसार आर्थिक वर्ष २०७२/७३ मा मात्रै जिल्लाका विभिन्न स्थानमा १८ हेक्टर क्षेत्रफलमा नयाँ माछापालन जलाशय निर्माण गरिएको जिल्ला कृषि विकास कार्यालय दाङका मत्स्य विकास अधिकृत सुरेशकुमार भुजले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०६८/०६९ देखि सुरुभएको मत्स्य उत्पादन कार्यक्रमअन्तर्गत दाङमा व्यवसायिक माछापालन गर्नेको संख्या ह्वात्तै वढेको छ । सुरु सुरुका बर्षहरुमा माछापोखरी विस्तार गर्नका लागि सरकारले प्रतिहेक्टर एक लाख रुपैयाँ अनुदान दिने गरेपनि गएको आवबाट प्रतिहेक्टर अनुदान ३ लाख पु¥याएको छ । जिल्लामा अहिले वार्षिक ६ सय ६१ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । माछापालनमा जिल्लामा करीव २० करोड वढी लगानी भइसकेको छ । तर यो उत्पादन जिल्लाको आश्यकताभन्दा निकै कम हो । जिल्लामा अहिले पनि वर्षेनी करीव ३ हजार २ सय मेट्रिक टन माछा जिल्ला वाहिरबाट निर्यात गरिदै आएको छ ।