प्रधानमन्त्री पुष्पकमल दाहालले यस वर्षको दसैँ र तिहारजस्ता चाडपर्वमा कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नहुने बताउनुभएको छ । हरेक वर्षजसो दसैँ, तिहारजस्ता चाडपर्वमा हुने दैनिक उपभोग्य वस्तुको अभाव यो वर्ष हुँदैन, नेपाल टेलिभिजनद्वारा शनिबार प्रसारित कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’मा शनिबार प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो वर्ष यातायातको पनि कुनै समस्या हुनेछैन । ”
उहाँले भारत र चीन दुवै छिमेकी मुलुकलाई नेपालको सहयोगीका रूपमा राख्ने वातावरण सिर्जना गर्नेतर्फ आफ्नो आगामी भ्रमण केन्द्रित हुने प्रस्ट पार्नुभयो । विदेशमा रहेका लाख नेपालीले भोग्नुपरेका समस्यालाई सम्बोधन गर्नेतर्फ आफू प्रधानमन्त्री भएकै दिनदेखि नै प्रयास गरेको र त्यसका लागि नीतिगत सुधार गर्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो । एक प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले समाजमा पछि परेका समुदायलाई अगाडि ल्याउने उद्देश्यले पनि समानुपातिक सिद्धान्त लागू गरिएको जानकारी दिनुभयो ।