काठमाडौं,११ भदौ । बेलायती सेनाका पूर्व गोर्खा सैनिकको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी आफूहरुमाथि बेलायत सरकारले विभेद गरेको भन्दै बेलायत सरकारसँग बार्ता गरी समस्या समाधानमा पहल गरी दिन आग्रह गरेको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवासमा भएको भेटमा टोलीले २५ वर्षदेखि आफूहरु बेलायत सरकारसँग बार्तामा बसे पनि समस्या समाधान नभएकाले सरकारी तहबाटै बार्ता गरी समस्या समाधानको पहल गर्न आग्रह गरेको हो ।
यस अघि पनि आफूले गोर्खा सैनिकका मागहरुका सम्बन्धमा पटकपटक कुरा उठाइसकेको जानकारी गराउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरुका माग जायज छन्, यो राष्ट्रकै विषय हो । मैले आफ्नो ठाउँबाट आवश्यक पहल गर्नेछु ।’