काठमाण्डौ, १० भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैकल्पिक व्यवस्थाबिना सुकुम्बासी बस्तीमाथि हस्तक्षेप नगर्न निर्देशन दिनुभएको छ । अखिल नेपाल सुकुम्बासी संघको प्रतिनिधि मण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सरकारका सबै संयन्त्रलाई यस्तो निर्देशन दिइसकेको बताउनुभयो ।
सुकुम्बासी बस्ती उठाउन खोज्ने, वत्ति पानीको सुविधाबाट बञ्चित गर्नेजस्ता कामहरु तत्काल बन्द गर्न निर्देशन दिइसकेको र कहीँकतै निर्देशन पालना नभएको भए जानकारी दिन पनि आग्रह गर्नुभयो । प्रधानमन्त्रीले वर्षातको समयमा बैकल्पिक व्यवस्था सम्भव नभएकाले सुकुम्बासी बस्तीमाथि भौतिक र मनोवैज्ञानिक हस्तक्षेप नगर्न निर्देशन दिएको जानकारी दिँदै छिट्टै सरकारले उचित व्यवस्थापन गर्ने बताउनुभयो ।
‘गरीबका लागि सरकार’को कार्ययोजना उत्पीडितका पक्षमा काम गर्ने प्रतिवद्धतासहित आएको भन्दै शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा सुकुम्बासी लगायतका उत्पीडित समुदायलाई प्राथमिकता दिइने प्रधानमन्त्री दाहालले बताउनुभयो ।
भेटमा सुकुम्बासी संघका प्रतिनिधिहरुले सुकुम्बासीलाई भौगोलिक मापदण्डअनुसार जमिन वितरण गर्न, उच्चस्तरीय आयोगमार्फत् सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्न, भूकम्पपीडित सुकुम्बासीलाई सहज रुपमा राहत उपलब्ध गराउन, विकासका आधारभूत पूर्वाधारको व्यवस्था गर्न, सुकुम्बासीका सन्ततिलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।।