काठमाडौं, भदौ ८ ।
इटालीमा आज गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ३७ जनाको मृत्यु भएको छ । राजधानी रोमनजिक रहेको पेरुगिए सहरको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दू बनाएर ६.२ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) ले जनाएको छ । भूकम्पमा परी अहिलेसम्म ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने धेरैजना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
स्थानीय समयअनुसार बुधबार बिहान ३ बजेर ३६ मिनेटमा गएको भूकम्पको गहिराइ १० किलोमिटरमात्रै रहेको थियो । भूकम्पको धक्का राजधानी रोममा पनि महसुस भएको स्थानीय सन्चारमाध्यमले जनाएका छन् । भूकम्पको धक्का २० सेकेन्डसम्म महसुस गरिएको थियो ।भूकम्प गएपछि इटालीमा भागदौड मच्चिएको थियो । इटालीमा सन् २००९ मा गएको ६.३ म्याग्निच्यूडको भूकम्पमा परी तीन सयजनाले ज्यान गुमाएका थिए ।।