जाजरकोट, ५ भदौ ।
जाजरकोटमा छोराले आमाको हत्या गरेका छन् । सक्ला गाविस–१ लैखमका ३८ वर्षीय वृद्धिबहादुर खत्रीले ६५ वर्षीया आमा देउती खत्रीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जग्गासम्बन्धी विवाद भएपछि आमालाई बन्चरो प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको निमित्त प्रमुख प्रहरी निरीक्षक हिक्मत बोहराले बताउनुभयो ।
गत साउन २२ गते नै आमाको हत्या गरी खाडलमा गाडेको बयान खत्रीले दिएपछि प्रहरीले विशेष रुपले अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । खत्रीले भदौ २ गते आमा हराएको भन्दै सेपुखोला प्रहरी चौकीमा निवेदन समेत दिएका थिए ।
स्थानीय बासिन्दाले दिएको सूचनाका आधारमा खत्रीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार बयानका क्रममा खत्रीले जग्गासम्बन्धी विवाद हुँदा आमाको हत्या गरी खाडलमा गाडेको स्वीकारेका छन । घटनाको विस्तृत अनुसन्धान गर्नका लागि जिप्रकाबाट प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा पाँचजनाको अनुसन्धान टोली लैखमतर्फ पठाइएको छ।।