काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतमा रुपमा दिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्दसँग शनिबार मध्यान्ह भेटघाट गरेका छन् ।
निधिले मोदीलाई उनको निवास सेभेन रेसकोर्समा भेटेका हुन् । भेटका क्रममा निधिले संविधान संशोधनमा भइरहेको प्रयास, संविधान कार्यान्वयनमा भारतको सहयोगलगायतका विषयमा मोदीसँग छलफल गरेको बताइएको छ ।
भेटका क्रममा निधिले सरकारले नेपाल भारतबीचको सदियौंदेखिको सम्बन्ध थप मजबुत बनाउन चाहेको भन्दै प्रधानमन्त्री प्रचण्डको चार सन्देश समेत मोदीलाई हस्तान्तरण गरेको बताइएको छ ।
प्रधानमन्त्रीको सन्देशमा संविधानमा आवश्यक संशोधन गरी त्यसलाई सर्वस्वीकार्य बनाएर सकेसम्म छिटो चुनावमा जाने , नयाँ सरकार भारतसँगको सम्वन्धलाई सुमधुर बनाउन तयार रहेको, दुई पक्षीय उच्चस्तरीय भ्रमण र नयाँ सरकारले विकासका परियोजनाहरुलाई अगाडी बढाउन चाहेको कुरा उल्लेख गरिएको छ ।
भेटका क्रममा मोदीले नयाँ सरकार बनेसँगै दुई देशबीचको सम्बन्ध मजबुत हुने विस्वास व्यक्त गरेको बताइएको छ । मोदी र निधिबीच ४५ मिनेट कुराकानी भएको थियो ।
रातो पाटी बाट