काठमाण्डौ, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दुतका रुपमा भारत गएका उपप्रधान तथा गहृमन्त्री बिमलेन्द्र निधिले आजदेखि उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ । निधिले आज साँझ ६ बजे भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग भेट गर्ने कार्यक्रम छ । भेटमा उहाँहरुबीच दुई देशबीच उच्चस्तरीय भ्रमण गराएर द्धिपक्षीय सम्बन्धलाई थप मजवुद बनाउने बिषयमा कुराकानी हुने परराष्ट्र अधिकारीले जनाएका छन् । यस्तै निधिले समकक्षी राजनाथ सिंह र विदेशमन्त्री शुष्मा स्वराजसंग आज छुट्टाछुट्टै भेटबार्ता गर्नुहुनेछ ।
यस्तै गृहमन्त्री सिंहसंग दुई मुलकवीचको सुरक्षा चासोका सम्वन्धमा छलफल हुनेछ । परराष्ट्र मन्त्रालयकी सहसचिव रिवु ढङ्गानासहित भारत भ्रमणमा रहेका गृहमन्त्री निधिले उच्चस्तरीय भेटघाट गर्नुअघि भारतीय राष्ट्रिय विपद व्यवस्थापन केन्द्रका अधिकारीसंग छलफल गर्दैहुनुहुन्छ । निधिले विपद व्यवस्थापनमा भारतले गरेको कामको निरिक्षण अवलोकन र भारतीय कंग्रेस आईका नेताहरुसंग पनि भेट्ने कार्यक्रम छ ।।