जनक नेपाली/दाङ
साउन २१ गते । रामपुर ३ स्थित बालीम खोलाको डिल माथीको झुप्रोमा मान्छेको भिड देखिन्थ्यो । दृश्य हेर्दा लाग्थ्यो उनको परिवार माथी ठुलै विपत्त आईलागेको छ । उमेरले डाँडा काटेका नमबहादुर विक र श्रीमती आइती कट्वाल्नीले घरमा आउँने जो कसैको साथ पाईन्छ की भन्दै यसरी नै हात फैलाउँदै हिड्छन । गरिब र अभाबको चपेटामा परेको यो परिवार सामाजिक रुपमा समेत तिरस्कृत बन्दै आएका छन् । ५० बर्ष देखि खोलाको डिलमा बस्दै आएको यो दम्पति पछिल्लो समय खान समेत नपाएर भोक भोकै बस्नु पर्ने अबस्था रहेको स्थानिय विरबहादुर विकले वताउनुभयो ।
८३ बर्षीय नमबहादुर विक र ८० बर्षीय आइती कट्वाल्नी संग यतिबेला न रातमा ओतलाग्ने छाप्रो छ न खानलाई मानो नै छ दिनरात भोकै भोकै बस्न बाध्य बनेको विरबहादुरको भनाई छ । भत्किएको छाप्रोमा बस्दै आएको दलित दम्पती भगवान कै भरोसामा बचिरहेका छन् ।
बालिम खोलाको किनारमा बस्दै आएका वृद्ध दलित दम्पती गाई र कुकुरसँगै बस्दै आएका हुन् । ‘सम्पतिको नाममा यही एउटा गाई र दुइटा कुकुर छन्, नमबहादुरले भन्नुभयो– ‘यिनीहरुसँगै बस्दै आएका छौं ।’ ढुङ्गाले अड्याएको बुकुरोका भित्ता भत्किएका छन् । छानाको नाममा च्यातिएको त्रिपाल, प्लास्टिकका टुक्राटाक्री, गाउँलेले फालेका लत्ताकपडा, जुत्ता र झारपातले झुप्रोको छानोको बनाएका छन् ती दम्पतीले । झुप्रोभित्र गाइको गोबर र हिलोले भरिएको छ । त्यही गोबर र हिलैहिलोको छेऊमा बुढाबुढीको सुत्ने ओछ्यान छ । ओछ्यान के भन्नु ? ढुङ्गा मिलाएर बराबर बनाई थोत्राथोत्री लत्ताकपडाले टालेका थाङ्ना । यही बुकुरोभित्र ८३ वर्ष नाघेका यी दलित दम्पत्ति जीवनका अन्तिम दिनहरु गन्दै बाँचिरहेका छन् ।
एउटा छोरो भए पनि त्यसको व्यवहार आफूले पालेका पशु जति पनि राम्रो नभएको वृद्ध नमबहादुले बताउनुभयो । छोरो बर्षमा एक दुइपटक घरमा आउने र मागेर ल्याएको चामलसमेत बेचेर रक्सी खाइदिने गरेको उहाँ बताउनुहुन्छ । ‘छोरो भन्ने रहेन बाबु, मागेर ल्याएको चामल बेचेर रक्सी खाइदिन्छ, उहाँले भन्नुभयो– ‘छोराको भन्दा बढ्ता माया यही गाई र कुकुरको लाग्छ ।’
प्यूठानबाट २००९ सालमा दाङ झरेर फिरन्ते जीवन बिताउँदै आउनुभएका नमबहादुरले आँखा देख्न छाडेपछि श्रीमतीसँगै बालिम खोलाको छेउमा बस्न थालेको बताउनुहुन्छ । मैलो शरिर, मयलले कटकटिएका पुराना कपडाले लाज ढाक्नुभएका नमबहादुर भन्नुहुन्छ, ‘फेर्ने कपडा छैन, सुत्नलाई ओछ्यान छैन । अरु त के खानलाई अन्नै छैन ।’ त्रिपाल र गाउँलेले फालेका पुराना कपडा, स्याउलाले छोपेको झुप्रोभित्र पानी पसेर ताल पर्ने भएकाले अरुले फालेका लत्ताकपडाको ओछ्यान पनि भिज्ने उहाँको भनाई छ । ‘खानलाई चामल, नून तेल क्यै छैन, मागेर कसैले दिदैन, नमबहादुरले भन्नुभयो– ‘भोकभोकै बस्ने बानी पर्न लाग्यौं अब ।’ पहिले माग्न गएपछि गाउँलेहरुले अलि–अलि सहयोग गरे पनि आजभोलि कसैले केही नदिने गरेको उहाँको दुखेसो छ ।
गाई, कुकुर र आफूहरु एउटै त्रिपालमुनि बस्दा फोहरै फोहर भए पनि सफा गर्न नसकेको उहाँले बताउनुभयो । ‘बुकुरोभित्र फोहरै–फोहर भएको छ, म आँखा देख्दिनँ, उहाँले भन्नुभयो– ‘बुढीले काम गर्नै सक्दिन, कसरी सफा गर्नु ?’ नमबहादुरले बताउनुभयो ।
ढुङ्गा राखेर बनाएको ती दम्पतीको चुलो कहिलेकाँही मात्र बल्ने गर्छ । ‘कसैले दया गरेर चामल र पीठो ल्याइदिए मात्र खाना पाक्ने गर्छ, नमबहादुरले गहभरि आँसु पार्दै भन्नुभयो, ‘काम गर्न सक्ने अवस्था छैन, माग्न जाँदा छोराछोरी होलान् त भन्दै रित्तो हात फर्काइदिन्छन् ।’ गाउँतिर गएर माग्नुभन्दा वनजंगलतिर गएर गिठा र तरुल ल्याई उसिनेर खाने गरेको उहाँको भनाई छ ।
घोराही–रामपुर सडकको छेऊमा बस्दै आएका यी वृद्धदम्पतीलाई देख्दा गाउँका केटाकेटीसमेत भाग्ने गर्छन् भने कतिपय गाउँलेहरुले बाहिरबाट आएका मान्छेहरुसँग यी दम्पती बहुला भएकोसमेत भन्दा रहेछन् । च्यातिएका मैलो कपडा लगाएका वृद्ध दम्पतीलाई मानसिक सन्तुलन गुमाएको भन्दै कोही पनि उनीहरुसँग बोल्न मान्दैनन् ।
गरिबीले आक्रान्त ती दलित दम्पतिले रुँदै आफूहरु बाचुञ्जेल सजिलरी बाँच्ने गरी सहयोग गरिदिन आग्रह गरे । ‘साँझ–बिहानको छाक टार्ने केही छैन, नमबहादुरले हात जोड्दै भन्नुभयो, ‘मान्छेको जुनी बाँच्न सकिएन । हाम्रा लागि भगवान पनि टेढा भए ।’
बालिमखोलाको बगर छेऊमा यी वृद्ध दम्पतीको यो विजोग भएको ५० औ बर्ष वर्ष पुगिसकेछ तर अहिलेसम्म उनीहरुको पीडा बुझ्ने चेष्टा कसैले गरेको छैन । वृद्धाश्रम चलाउनेहरु, धर्मशाला खोल्नेहरु दलितका नाममा संघ संस्था चलाउँनेहरु अनि अलिकति मन र धन हुनेहरुले उनीहरुको उद्दार गरिदिए यी दलित दम्पतीका जीवनका अन्तिम दिनहरु केही सहज बन्थे कि ?
